
फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले बराबरीमा चित्त बुझाएको छ । सोमबार राति सम्पन्न खेलमा केप भर्डले फुटबलको पावरहाउस स्पेनलाई गोलरहित बराबरीमा रोकेको हो।
एटलान्टा स्टेडियममाकेप भर्डले देखाएको जुझारु प्रदर्शन विश्वकप इतिहासकै एउटा स्मरणीय क्षण बन्न पुगेको छ।
खेलको सुरुवातदेखि नै स्पेनले बलमाथि नियन्त्रण राख्दै केप भर्डलाई दबाबमा राखेको थियो। तर, केप भर्डका गोलकिपर भोझिन्हाआज स्पेनका लागि पर्खाल सावित भए। उनले खेलभरि नै आधा दर्जनभन्दा बढी उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए।
स्पेनका स्ट्राइकर फेरान टोरेसको एक प्रहार क्रसबारमा लागेर बाहिरिएपछि स्पेन अग्रता लिनबाट चुकेको थियो।
खेलको उत्तरार्धमा स्पेनका समर्थकहरू टोलीको सुस्त र प्रभावहीन प्रदर्शनप्रति निराश देखिएका थिए। रंगशालामा स्पेनिस खेलाडीहरूले बल पास गरिरहँदा समर्थकहरूले 'बू' गर्दै असन्तुष्टि पोखेका थिए। अर्कोतर्फ, केप भर्डका समर्थकहरू भने आफ्नो टोलीले विश्वको हेभिवेट टोलीलाई कडा टक्कर दिएकोमा निरन्तर हौसला बढाइरहेका थिए।
खेलको अन्तिम १० मिनेट निकै नाटकीय रह्यो। ८९ औं मिनेटमा डानी ओल्मोको सटिक पासमा मिकेल ओयार्जाबलले प्रहार गरेको शक्तिशाली भलीलाई स्यामरोक रोभर्सका डिफेन्डर पिको लोप्सले शरीरले छेकेर गोल हुनबाट बचाएका थिए। लोप्सको यो 'ब्लक' केप भर्डका लागि गोल समान थियो।
थपिएको ५ मिनेटको इन्जुरी समय झनै रोमाञ्चक रह्यो। ९१ औं मिनेटमा केप भर्डले कर्नरमार्फत गोल गर्ने सुवर्ण मौका पाएको थियो, तर डिने बोर्जेसको हेड प्रहार सिधै स्पेनिस गोलकिपर उनाई सिमोनको हातमा पुग्यो
। ९३ औं मिनेटमा केप भर्डको काउन्टर अट्याक रोक्न स्पेनका युवा स्टार पेड्रिले फल गरेपछि उनलाई पहेँलो कार्ड दिइएको थियो।
खेल सकिएको सिठी बज्नेबित्तिकै केप भर्डका खेलाडी र समर्थकहरूले विश्वकप नै जितेको शैलीमा खुसीयाली मनाएका थिए। स्पेन जस्तो बलियो टोलीबाट खोसेको यो एक अंक केप भर्डका लागि ऐतिहासिक उपलब्धि हो।
यस बराबरीसँगै समूह 'एच' को समीकरण रोचक बनेको छ। यसै समूहमा उरुग्वे र साउदी अरब जस्ता टोलीहरू पनि रहेका छन्। स्पेनले अब आफ्नो अर्को खेलमा सुधारिएको प्रदर्शन गर्नुपर्ने दबाब बढेको छ भने केप भर्डले यो नतिजाबाट ठूलो आत्मविश्वास बटुलेको छ।