विश्वविद्यालयमा पश्चिमाको जाल : न हाँसको चाल, न बकुल्लाको चाल !

करीब २० वर्षअघिको कुरा हो । बागबजारको शहीद शुक्र माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै थिएँ । हाम्रो विद्यालयमा पनि ‘टाई’ लगाउनुपर्ने नियम आयो । त्यस अघि निजी विद्यालयमा मात्रै टाई लगाइने गरेको देख्ने गर्थ्यौं ।

हाम्रो सरकारी विद्यालय पनि आधुनिक बन्ने भयो, हामी पनि ‘स्ट्यान्डर्ड’ देखिने भयौं भनेर हामी दङ्ग पर्‍यौं । २ दशक बिते । त्यो बेला आफ्नो बाल मस्तिष्कमा कस्तो छाप परेको रहेछ भनेर केलाउँदा अहिले उदेक लाग्छ ।


Advertisement

नेपालमा पश्चिमबाट ल्याइएको भन्ने बितिक्कै विज्ञानसम्मत, आधुनिक, प्रगतिशील मान्ने मानसिकता व्याप्त छ । पश्चिमा देशमा जे खाइन्छ, जे लाइन्छ, जे बोलिन्छ, जसरी सोचिन्छ, त्यसलाई नक्कल गर्नु आधुनिक हुनु हो भन्ने मानसिकता हामीमा व्याप्त छ । नत्र ‘टाई’ लगाउने नियम ल्याउनुको औचित्य के थियो होला ? यो मानसिक दासता हो ।

सरकारी विद्यालयमा टाई लगाउन थालेपछि आधुनिक भइन्छ भन्ने हाम्रो बाल मस्तिष्कमा त्यत्तिकै छाप परेको होइन, विद्यार्थी हुर्किने, बढ्ने र पढ्ने वातावरण नै त्यस्तै बनाइएको छ ।
 
व्यक्तिको रूपमा कसैलाई टाई लगाउन मन लाग्छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रताको विषय हो । विद्यालयमा संस्थागत रूपमा टाई लगाउने नियम ल्याइनुले पश्चिमाको नक्कल गर्नु आधुनिक हुनु हो भन्ने मानसिकता कसरी गढेको छ भनेर देखाउँछ ।


Advertisement

क्याथोलिक रोमन साम्राज्यमा फर्डिनाण्ड दोस्रो सम्राट बने । शासनसत्ता हात लिए आफ्नो साम्राज्यका गैरक्याथोलिक इसाई नागरिकलाई जबरजस्ती क्याथोलिक इसाई बनाउन थाले । यस कार्यको प्रोटेस्टेन्ट इसाईहरूले विरोध गरे । त्यसपछि युरोपमा क्याथोलिक इसाई र प्रोटेस्टेन्ट इसाईबीच युद्ध भड्कियो । क्याथोलिक लिग अन्तर्गत रहेका फ्रान्सले क्रोएसियाका भाडाका सिपाहीलाई क्याथोलिक सेनाको तर्फबाट लडाउन थाल्यो । भाडाका सिपाहीमा एकरूपता नदेखिने भए पनि क्रोएसियाका भाडाका लडाकुमा एउटा विशेषता थियो । 

सबैजसो क्रोएसियाली भाडाका सिपाहीले घाँटीमा एकै किसिमले क्राभाटी लगाएका हुन्थे । क्राभाटी भनेको घाँटीमा बाँधेर झुण्ड्याइने कपडा हो । क्याथोलिक अतिवादी कवि इभान गुण्डुलिकले क्रसमा झुण्ड्याएर मारिएका जिसस क्राइस्टको सांकेतिक रूप स्वरूप पहिलो पटक क्राभाटीको प्रयोग गरेका थिए भनिन्छ भने क्राभाटीले जिसस क्राइस्टसँग कुनै लिनुदिनु छैन भन्ने पनि छन् ।

घाँटीलाई चिसोबाट जोगाउन क्रिएसियालीहरूले विकास गरेको उपाय भनेर तर्क राख्ने पनि छन् । यद्यपि उत्तरी युरोपमा समुन्द्र जम्ने चिसो हुँदा पनि क्राभाटी नबनाउनु तर क्रोएसिया जस्तो तुलनात्मक रूपमा न्यानो स्थानमा घाँटी जोगाउन क्राभाटी बन्नु त्यसमाथि क्याथोलिक अतिवादी इभान गुण्डुलिकले सबैभन्दा पहिले प्रयोग गर्नुले प्रश्न जन्माएको छ ।

खैर, चिसोबाट जोगाउन भएपनि इसाईत्वको प्रतिनिधि संकेत भएता पनि नेपालमा आइपुग्दा आधुनिक बन्नको लागि पूरा गर्नैपर्ने मानक बन्यो । पश्चिमबाट हाम्रा शैक्षिक संस्थाले सिक्ने कुरा यही हो त ?

कुरा टाईमा मात्रै सीमित रहेन । विद्यालयका कक्षाहरू पार गर्दै गएर अन्तिममा विश्वविद्यालयको पढाइ पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्ने दिनलाई ‘दीक्षान्त’ समारोह हुन्छ । त्यो दिन शैक्षिक प्रमाणपत्र लिने विद्यार्थी, दिने व्यक्ति र पढाउने प्राध्यापकले विशेष किसिमको पोशाक लगाउँछन् । जसलाई अंग्रेजीमा गाउन भनिन्छ र शिरमा विशेष टोपी लगाइन्छ, जसलाई मोर्टारबोर्ड ह्याट भनिन्छ । 

युरोपमा बाह्रौं शताब्दीतिर चर्चका पादरीहरू निकै प्रभावशाली हुन्थे । राज्य सञ्चालनमा समेत पादरीहरूको दबदबा हुन्थ्यो । शिक्षाको क्षेत्र अछुत रहने कुरै थिएन । पादरीहरू मुख्यतः बाइबल पढाउन विद्यार्थी जम्मा गर्थे । चिसोबाट बच्नका लागि भनेर पादरीहरू लामो कपडा लगाउँथे । विद्यार्थीलाई पनि त्यस्तै लामो कपडा लगाउन लगाउँथे । यसको प्रभाव बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पनि पर्‍यो । पढाइ सकिएपछि प्रमाणपत्र प्रदान गरिने दिन विद्यार्थी र प्राध्यापकले यही लामो कपडा लगाउने कार्यलाई निरन्तरता दिए । ‘दीक्षान्त’ समारोहमा लगाइने ‘गाउन’ नेपाल पनि भित्रियो । क्याथोलिक पादरीहरूले लगाउने बिरेटा नामको टोपीबाट मोर्टारबोर्ड ह्याट बनेको कुरा ग्राजुएसन सोर्समा पढ्न सकिन्छ । 

नेपालका विश्वविद्यालयमा प्रमाणपत्र ग्रहण गर्ने समारोहमा मोर्टरबोर्ड ह्याट र गाउन लगाउने नियम त्यसैगरी भित्रिएको हुनुपर्छ, जसरी शहीद शुक्र माध्यमिक विद्यालयमा टाई लगाउनुपर्ने नियम भित्रिएको थियो – आधुनिक बन्न पूरा गर्नुपर्ने मापदण्ड !

कक्षामा टाई लगाएर पढेपछि अथवा ‘दीक्षान्त समारोह’मा मोर्टारबोर्ड ह्याट लगाएपछि शिक्षाको गुणस्तर उकासिने पनि होइन । नलगाएपछि खस्किने पनि होइन । तर हाम्रो मानसिकता नै यस्तै बन्यो कि शिक्षालय जस्तो संवेदनशील क्षेत्रमा समेत पश्चिमाहरूको त्यस्तो विषयको नक्कल गरियो, जसमा नेपालमा कुनै सान्दर्भिकता पनि छैन । वैदिक सनातनका, बौद्धका, किरातका अथवा बोनका कुनै शैक्षिक प्रणाली नै नभएको भए शैक्षिक प्रणाली पश्चिमा देशहरूबाट सिक्ने क्रममा टाई, मोर्टारबोर्ड ह्याट र ग्राजुएसन गाउन पनि सँगसँगै भित्रियो भन्नुहुन्थ्यो । विश्वको सबैभन्दा पुरानो ज्ञान, परम्परा र व्यवस्थित रूपमा ज्ञान प्रदान गर्ने गुरुकुलीय व्यवस्था थियो त हाम्रो इतिहासमा । खोइ, किन खोज गरेनन् ?

शिक्षालयले के सिक्नुपर्थ्यो ? 

७ कक्षामा टाई लगाउनुपर्ने नियम आउनुअघि जस्तो पढाइ थियो, टाई आएपछि पनि त्यस्तै नै रह्यो । जाँचमा कस्तो प्रश्न आउँछ त्यसैको ढाँचामा पढाइ जारी रह्यो । तयारी प्रश्नका तयारी उत्तर घोक्ने र त्यसलाई परीक्षामा उतार्ने कार्य यथावत रह्यो । विद्यार्थीले अनुसन्धान गर्ने, विश्लेषण गर्ने र आफ्नो मौलिक तरिकाले समस्याको समाधान पद्धतिको विकास भएन ।

विद्यालयस्तरमा मात्रै होइन, विश्वविद्यालयको अवस्था झनै निराशाजनक छ । यो लेख लेख्दै गर्दा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले फ्रान्सेली आर्मेल ली बेलको कार्यको चोरी गरेर भारतीय जर्नलमा प्रकाशित गरेको भनेर समाचार आएको समाचार फेसबूकमा शेयर भइरहेको छ, आएको थियो ।

विश्वविद्यालयका प्राध्यापकहरू खोज, अनुसन्धान गरेर नयाँ–नयाँ कुरा पत्ता लगाउनुपर्नेमा चोरी गरेरै भए पनि आफ्नो–आफ्नो स्वार्थपूर्तिमा लाग्छन् भने त्यस किसिमको शैक्षिक संस्थाबाट समाज के अपेक्षा गर्न सक्छ ? यो घटना पहिलो भने होइन । जुन स्थानबाट टाई, मोर्टारबोर्ड ह्याट र गाउन ल्याइएको छ, ती स्थानमा रहेका विश्वविद्यालयमा यसरी चोरी गरेर जर्नलमा प्रकाशित गरेको भए जागिरबाट हात धुनुपर्ने अवस्था आउँथ्यो । सिक्नै परे बौद्धिक चोरी रोक्ने उपाय र अपराध ठहर भए कडा कारवाही गर्ने व्यवस्था सिक्नुपर्ने होइन र ?

विद्यार्थीले पढाइको अन्त्यमा गर्ने थेसिसले सम्बन्धित क्षेत्रमा नयाँ अध्ययनको ढोका खोल्ने गर्छ । नयाँ–नयाँ तथ्य स्थापित हुने गर्छन् । नयाँ–नयाँ आविष्कार तथा नवाचार हुने गर्छन् । तर हाम्रा विश्वविद्यालय छेउछाउका फोटोकपी पसलमा ‘थेसिसको मात्र ५ हजार रुपैयाँ’ भनेर विज्ञापन टाँसिएको हुन्छ । बनिबनाउ थेसिसलाई तलमाथि गरेर कैयौं विद्यार्थीले आफ्नो पढाइ पूरा गर्छन् । थेसिसमा चोरी गरेको छ कि छैन जाँच्न ‘डुप्लि चेकर’ नाम गरेको सफ्टवेयरले निःशुल्क सुविधा दिने गर्छ । त्योबाहेक विकासोन्मुख राष्ट्रका विश्वविद्यालयको लागि न्यूनतम मूल्यका सफ्टवेयरहरू प्राप्त गर्न सकिन्छ । तर अझै पनि हाम्रा विश्वविद्यालयले एउटै थेसिसलाई तलमाथि गरेर थुप्रै विद्यार्थीलाई पढाइ सम्पन्न गरेको प्रमाणपत्र दिइरहेको छ । 

साइटेसन पर फ्याकल्टी अर्थात संकायबाट उद्धरण भएको संख्या उत्कृष्ट विश्वविद्यालय बन्न आवश्यक प्रमुख मापदण्डमध्ये एक हो । विश्वका हजार वटा उत्कृष्ट विश्वविद्यालयको लिस्टमा नेपालका विश्वविद्यालयको अत्तोपत्तो नहुनुले नेपालका विश्वविद्यालयमा अनुसन्धानको पक्षलाई गम्भीरतापूर्वक नलिएको देखिन्छ ।

बेलायतको अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय विश्वका हजारभन्दा बढी विश्वविद्यालयहरूमध्ये पाचौं र सातौं उत्कृष्ट विश्वविद्यालयमा पर्छन् । यी तिनै विश्वविद्यालय हुन्, जहाँबाट मोर्टारबोर्ड ह्याट र कन्भोकेसनका गाउन नेपालका विश्वविद्यालयमा भित्रिएका थिए । संकायबाट उद्धरणको संख्या, विद्यार्थी र प्राध्यापकको अनुपात र उपलब्ध स्रोतसाधनमा ध्यान पुर्‍याएको कारण आज संसारका अतिप्रतिष्ठित विश्वविद्यालयमा पर्न सफल भएका छन् । यी कुरा सिक्नु छाडेर हाम्रा विश्वविद्यालय मोर्टार बोर्ड ह्याट र गाउनको नक्कलमै रमाइरहेका छन् । 

हाम्रा विश्वविद्यालयले न हाम्रै सभ्यतागत पृष्ठभूमिमा निर्मित तक्षशीला, नालान्द र विक्रमशीला जस्ता प्रतिष्ठित शैक्षिक संस्थाको उत्तराधिकार लिनसके न एमआईटी, अक्सफोर्ड र क्याम्ब्रिजले जसरी विश्वविद्यालयको धर्म निभाउन सक्षम भए । न हाँसको चाल न बकुल्लाको चाल !

सुशील गौतम
सुशील गौतम

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्