
काठमाडौंको महांकालचौरस्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको छ ।
आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई. मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रूपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गरेका हुन् ।
महांकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।
अहिले दैनिक ४ करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने पनि प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।
अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको पनि उनले बताए ।
कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउने बित्तिकै र्यापिड रेस्पोन्स टीमले समस्या समाधान गरी पानी पुर्याउने पनि उनले बताए ।
हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरूमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरू परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजनाअन्तर्गत पहिलो चरणमा आज ४ करोड लिटर पानी महांकालचौर, अनामनगर, मीनभवन र खुमलटार स्थित पोखरीहरूमा जम्मा हुने योजना रहेको पनि शाक्यले बताए ।
आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुने छ ।
दोस्रो चरणमा बालाजुस्थित पानी पोखरीमा समेत गरी ६ दशमलव ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जस्थित पानी पोखरीहरूमा समेतमा गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुर स्थित पोखरीहरूमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरूबाट काठमाडौं उपत्यका चक्रपथभित्र र आसपासका क्षेत्रहरूमा पानी वितरण गरिने योजना केयूकेएलको छ ।
हाललाई पानीको शुल्क यथावत रहेको पनि केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए ।