०७ असार २०८३, आइतबार

चीनले कोरोना विरुद्धको खोप दिएर गहिरो मैत्री सम्बन्धलाई उजागर गर्‍यो : केपी ओली

चीनले कोरोना विरुद्धको खोप दिएर गहिरो मैत्री सम्बन्धलाई उजागर गर्‍यो : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले २ देशबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चीन सरकारद्वारा नेपाल सरकारलाई अनुदान स्वरूप प्रदान गरिएको कोभिड–१९ विरुद्धको खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले २ देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताए ।

चीन सरकारबाट प्राप्त सहयोगले कोभिड–१९ महामारीविरुद्ध प्रभावकारी ढंगले अगाडि बढ्नका निम्ति महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘कोभिड–१९ महामारीविरुद्ध हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडि लैजानका लागि, अझ प्रभावकारी ढंगले अगाडि बढाउनको निम्ति यो एउटा महत्त्वपूर्ण सहयोगको रूपमा रहने छ । नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ । यसले अझ थप बल पुर्‍याएको छ ।’

चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरूप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरिन् ।

प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताए । उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरू प्रभावकारी रहेको पनि बताए । उनले भने, ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन् तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिच्किचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेको समेत बताए ।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ विरुद्ध लड्न नेपालको साथमा चीन सधै रहेको बताइन् । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पारिन् ।

कमेन्ट गर्नुहोस्