
अमेरिकाको अलास्का राज्यमा स्की खेल्नका लागि गएका चेक गणतन्त्रका सबभन्दा धनी व्यक्ति तथा चार अन्यको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।
पेट्र केलनर नामक ती अर्बपति व्यापारी एंकरेजबाट ५० माइल पूर्वमा रहेको क्निक ग्लेसियर नजिक दुर्घटनामा परेका थिए ।
मारिएका अन्यमा चेक गणतन्त्रकै बेन्जामिन लारोचाइ, कोलोराडोका ग्रेगोरी हार्म्स, अलास्कामा सीन मकमान्नानी तथा हेलिकप्टर चालक जाकारी रसल छन् ।
पाँचैजनाको शव दुर्घटनास्थलमा फेला परेको थियो । विमानमा छैटौं व्यक्ति पनि थिए । उनलाई अस्पताल लगिएको थियो । उनको अवस्था गम्भीर तर स्थिर रहेको अलास्का स्टेट ट्रूपर्सले जनाएको छ ।
टोरड्रिलो माउन्टेन लजले प्रतिव्यक्ति ११ हजार पाउन्डको दरले हेली स्की प्याकेज उपलब्ध गराउने गरेको छ ।
केलनर लो प्रोफाइलमा बस्ने गर्थे र मिडियासँग खासै कुरा गर्दैनथिए ।