
साइबर सुरक्षा कम्पनीहरूले र्यान्समवेयर अर्थात् पैसा धुत्नका लागि प्रयोग गरिने भाइरसहरूका बारेमा चेतावनी दिन थालेका छन् ।
पीडितहरूलाई लाजमर्दो स्थितिमा पुर्याएर पैसा लिने धन्धा मौलाउन थालेको छ ।
संवेदनशील निजी जानकारी खुलासा नगरिदिने भन्दै पैसा धुत्ने यो प्रवृत्तिबाट कम्पनीको कामकारवाही तथा इज्जत प्रतिष्ठा समेत खतरामा परेको छ ।
ह्याकरहरूले एक आईटी कम्पनीका निर्देशकको निजी पोर्न कलेक्सन ह्याक गरेको विषयमा टिप्पणी गरेपछि यो मुद्दा थप गम्भीर बनेको छ ।
तर ह्याकिङको शिकार बनेको उक्त अमेरिकी कम्पनीले सार्वजनिक रूपमा आफू ह्याकमा परेको स्वीकार गरेन ।
मार्च महिनामा डार्कनेटमा ह्याकरहरूले आईटी निर्देशकको नाम पनि पोस्ट गरेका थिए । अनि उनको अफिसको कम्प्युटरमा रहेको पोर्न फाइल ह्याक गरेको दाबी पनि उनीहरूले गरे ।
उनीहरूले कम्प्युटरको फाइल लाइब्रेरीको स्क्रीनशट पोस्ट गरेका छन् जसमा एक दर्जनभन्दा बढी फोल्डर छन् । तिनमा पोर्न स्टार र पोर्न वेबसाइटका नाम छन् ।
बदनाम ह्याकर समूहले लेख्यो, ‘उनी हस्तमैथुन गर्दै गर्दा हामी उनको कम्प्युटरबाट उनका कम्पनीको ग्राहकहरूका बारेमा कैयौं गिगाबाइटका निजी जानकारी डाउनलोड गरिरहेका थियौं ।’
ह्याकरहरूको यो पोस्ट केही साताअघि डिलिट भएको छ ।
कम्पनीले ह्याकरहरूलाई पैसा लिएको र अन्य जानकारी सार्वजनिक नगर्ने वाचा पूरा गरेको विशेषज्ञहरूको अनुमान छ ।
सम्बन्धित कम्पनीले यस विषयमा टिप्पणी गर्ने अनुरोधमा कुनै जवाफ दिएन ।
तर त्यही ह्याकर समूहले अमेरिकाको अर्को युटिलिटी कम्पनीलाई पैसा दिन दबाब दिइरहेको छ ।
ह्याकरहरूले कम्पनीका कर्मचारीहरूले प्रिमियम पोर्न वेबसाइटहरूमा प्रयोग गर्ने युजरनेम र पासवर्ड प्रकाशित गरिदिएका छन् ।
यसरी पैसा धुत्ने अर्को एक ह्याक समूहले डार्कनेट वेबसाइटमा यस्तै तरिकाका बारेमा लेखेको छ ।
यस नयाँ समूहले मानिसहरूको निजी इमेल र तस्वीर प्रकाशित गरेको छ अनि साइबर आक्रमणको शिकार बनेका अमेरिकी शहरका मेयरसँग सीधै पैसा मागेको छ ।
उता क्यानडामा ह्याकरहरूले एक बीमा कम्पनीमा भएको घोटालासँग जोडिएको इमेल ह्याक गरिएको दाबी गरेका छन् ।
साइबर सुरक्षा कम्पनी एमसीसफ्टमा जोखिम विश्लेषक ब्रेट क्यालोका अनुसार, यस प्रवृत्तिले र्यान्समवेयर ह्याकिङका नयाँ तरिका आइरहेको देखिएको बताएका छन् ।