अमेरिकाको लस एन्जिलिसमा बुधवार एक कार्यालय भवनमा गोलीकाण्ड हुँदा एक बालक सहित चारजनाको मृत्यु भएको छ ।
प्रहरीसँग गोली हानाहान गरेको आरोपितलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
अरेन्ज सिटीमा भएको रक्तपात एक महिनामा अमेरिकामा भएको तेस्रो हिंस्रक गोलीकाण्ड हो । आरोपितले किन गोलीकाण्ड मच्चाएका हुन् भन्ने विषयमा अधिकारीहरूले खुलाएका छैनन् ।
अरेन्ज प्रहरी विभागकी लेफ्टिनेन्ट जेनिफर अमातले प्रहरी अधिकारीहरू घटनास्थलमा बेलुका साढे ५ बजे पुगेको र त्यतिखेर गोली चलेको अनि आरोपितसँग गोली हानाहान भएको बताइन् ।
तीन वयस्क र एक बालकको गोली लागी मृत्यु भएको तथा दुई अन्य मानिस गोलीले घाइते भएको र अस्पताल लगिएको उनले बताइन् ।
दुई तल्ले कार्यालय भवनमा गोलीकाण्ड मच्चाइएको थियो । उक्त भवन भएको टोलमा घर, अपार्टमेन्ट र व्यापारिक प्रतिष्ठानहरू छन् ।