
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिएका छन् ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनैतिक महत्वका सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समर्थन फिर्ता लिन चुनौति दिएका हुन् ।
उनले दिनहुँ विभिन्न थरीले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता भएपछि राजीनामा दिने बताए ।
सरकारले आफ्नो ३ बर्षे कार्यकालमा निकै राम्रा र दुरगामी महत्वका काम गरेको भन्दै देश विकासको गतिमा लम्किएको देख्न नचाहने तत्वले सरकारको विरोध गरेको उनको दावी छ ।
प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौति दिए । उनले राजधानीमा मेलम्चीको पानी आएको थाहा नपाउने अखबारले आफ्नो राजीनामा मागिएको समाचार भने दिनहुँ छाप्ने गरेको गुनासो गरे ।
उनले भने,‘राष्ट्रको लोकप्रिय, बढी बिक्ने बहुत लोकप्रिय भन्ने अखबार काठमाण्डौमा मेलम्चीको पानी आएको समाचार दिदैन । प्रधानमन्त्रीको राजीनामा मागियो भनेर । आज माग्या हो र प्रधानमन्त्रीको राजीनामा ? माग्या माग्यै छ त । मागे पिच्छे म कसरी दिन सक्छु ? एक दिन एउटा राजीनामा हुन्छ । एउटाले माग्दैन , एक दिन माग्दैन । मागेको मागेकै छ । हटाउन न त । समर्थन पिर्ता लिईदेउ भन्छु त्यो पनि लिदैन । अनि राजीनामा माग्छ । राजीनामा त आईहाल्छ नि समर्थन फिर्ता गर न । समर्थन फिर्ता पनि गर्देन । राजीनामा माग्छ । दिनै पिच्छे एक एकवटाले राजीनामा माग्छ अनि दिनै पिच्छे राजीनामा मागेको खबर अखबारले छाप्छ तर मेलम्चीको पानी आएको थाहा पाउँदैन ।’
उनले संसदलाई व्यक्तिगत स्वार्थमा नभई जनताको आवश्यकता अनुसार चल्ने बनाउनका लागि ताजा जनादेशमा जानुपर्ने र सोही आवश्यकतालाई हेरेर सरकारले प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पारे ।