
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए ।
कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए । उनले भने,‘उनले राजीनामा दिनु हुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौंं ।’
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनःस्थापनाका लागि आवाज उठाएका तीन दलको बीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाइ छ ।
उनले भने,‘खासगरी अहिले अपोजिसनमा रहेका र हिजोको प्रतिगमन विरुद्धमा संघर्ष गरेका र पुनःस्थापनाका लागि आवाज उठाएका तीनवटा दलबीचमा पहिले हामी वार्ता गर्छौं, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’
उनले अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि बताए । तर यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे ।
वरिष्ठ नेता पौडेलले कांग्रेसको महाधिवेशन समयमै हुने पनि बताए । महाधिवेशन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेशन सम्पन्न गरिने बताए । उनले भने‘महाधिवेसन हुन्छ, समयमै हुन्छ । नेपाली कांग्रेसको महाधिवेसन भदौमा हुन्छ, गर्नैपर्छ, नगर्दाखेरी त हाम्रो पार्टीको अस्तित्व समाप्त हुन्छ ।’
जनता समाजवादी पार्टी नेपालका माग पुरा गर्न कांग्रेस प्रयासरत रहेको पनि वरिष्ठ नेता पौडेलले बताए ।