०१ असार २०८३, सोमबार

मानव अधिकार आयोगको स्वायत्तताका पक्षमा छौं, राष्ट्रसंघलाई पत्र पठाउँछौं : परराष्ट्रमन्त्री

मानव अधिकार आयोगको स्वायत्तताका पक्षमा छौं, राष्ट्रसंघलाई पत्र पठाउँछौं : परराष्ट्रमन्त्री

राष्ट्रिय मानव अधिकार आयोगमा भएको नियुक्तिबारे संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगको पत्रको उपयुक्त समयमा उपयुक्त ढंगले जवाफ पठाउने सरकारले बताएको छ । 

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार मानव अधिकार आयोगको स्वायत्तता र स्वतन्त्रताको पक्षमा रहेको र सोही अनुसार नै आयोगमा नियुक्ति भएको बताएका हुन् ।
 
‘नेपालको मानव अधिकार आयोगको छनोट प्रक्रियाबारे संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगको पत्र प्राप्त भएको छ । सरकारले उपयुक्त समयमा उपयुक्त ढंगले जवाफ पठाउने छ,’ आयोगको सिफारिसबारे कांग्रेस सांसद गगन थापाले उठाएको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘हामी नेपालको आयोगको स्वायत्तता र स्वतन्त्रताको पक्षमा छौं । त्यसअनुसार नै उहाँहरूको नियुक्ति भएको छ । आयोगलाई अगाडि बढाउन क्रियाशील रहेको व्यहोरा आग्रह गर्छु ।’

आयोगमा भएको नियुक्तिलाई लिएर राष्ट्रसंघको निकायले प्रश्न गर्दै सरकारलाई पत्र पठाएको थियो । प्रतिनिधि सभामा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद थापाले सरकारले कस्तो प्रतिक्रिया आउँदैछ भनेर प्रश्न गरेका थिए । 

‘अध्यादेश मार्फतबाट संवैधानिक प्रक्रिया छलेर मानव अधिकार आयोगमा नियुक्त गरेकोबारे संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयोगले पत्र पठाएको विषयले हामी सबैको शीर निहुरिएको छ । यो सम्बन्धमा सरकारले के कस्तो प्रतिक्रिया व्यक्त गर्ने तयारी गरेको छ ?’ थापाले प्रश्न गरेका थिए । 

संसदीय सुनुवाइ नगरी नियुक्त गरिएका मानव अधिकार आयोगका पदाधिकारीले गएको माघ २२ गते शपथ गरेका थिए ।   

salt training

कमेन्ट गर्नुहोस्