२८ जेठ २०८३, बिहीबार

संघीयता सबल बनाउन १० वर्षे रोडम्याप भोलिबाट कार्यान्वयनमा

चैत २४, २०७७
संघीयता सबल बनाउन १० वर्षे रोडम्याप भोलिबाट कार्यान्वयनमा

सरकारले सबल संघीयता परिकल्पना साकार पार्ने गरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप) बुधवारबाट कार्यान्वयनमा ल्याउँदैछ ।

संघीयता सफल र कार्यान्वयन पक्ष सशक्त बनाउने उद्देश्यसहित सरकारले आर्थिक वर्ष २०७७/७८ देखि २०८७/८८ लक्षित १० वर्षीय रणनीतिक योजना लागू गर्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मार्गचित्र (रोडम्याप) बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनमा आएको घोषणा गर्नेछन् । विगतदेखि नै सरकारले दर्जनौं नीति, योजना तथा कार्यक्रम बनाए पनि कार्यान्वयन सशक्त हुन नसक्दा परिणाम देखिन सकेको छैन । यसपटक भने संघीयता कार्यान्वयनका लागि बनाइएको रोडम्याप कार्यान्वयन हुने आशा गरिएको छ ।

मन्त्रालयले संघीयता कार्यान्वयनका लागि मुख्य ४ रणनीतिक स्तम्भ तय गरेको छ । जसअनुसार संघीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन, स्थानीय पूर्वाधार विकासमा सहजीकरण, सेवा प्रवाह र सुशासन छन् । यी रणनीतिक स्तम्भ व्यवस्थापनमा आवश्यक रणनीति र कार्यनीति समेत तय गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

४ पक्ष कमजोर हुँदा संघीय शासन प्रणाली संस्थागत विकासमा गम्भीर समस्या देखापर्न थालेको भन्दै संघीयता विज्ञले चिन्ता समेत व्यक्त गर्न थालेका छन् । संघीय शासन प्रणालीले जनताका घरदैलोमै सहज सेवा सुविधा दिन सक्नुपर्छ तर संघीयता अभ्यास थालिएको ५ वर्ष पुगिसक्दा समेत आमजनतामा सरकारी सेवाप्रति विश्वास बढेको देखिँदैन ।

सरकारद्वारा तय पहिलो रणनीतिक स्तम्भअन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच प्रशासनिक अन्तरसम्बन्ध सुदृढ, संघ र स्थानीय तह एवं प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी अन्तरसम्बन्ध कायम गरिने छ । सो रणनीतिअन्तर्गत तय कार्यनीतिमा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवा गठन तथा सञ्चालन नीति कानून, मापदण्ड तर्जुमा तथा परिमार्जन गरिने लक्ष्य निर्धारण गरिएको छ ।

प्रदेश निजामती, अन्य सेवा तथा स्थानीय सेवा संगठन संरचना निर्माणसम्बन्धी नीतिगत आधार तय गरिने कार्यनीति तय गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सेवाबीच प्रशासनिक साझेदारी र अन्तरसम्बन्ध कायम प्रणाली स्थापना गरिने भएको छ ।

निजामती प्रशासन हाँक्ने मुख्य कानूनका रूपमा रहेको संघीय निजामती सेवा ऐन संघीय शासन लागू भएको ५ वर्ष पुगिसक्दा समेत जारी हुन सकेको छैन । केन्द्रमा संघीय निजामती सेवा ऐन बन्न नसक्दा त्यसको असर प्रदेश र स्थानीय तहमा परेको छ ।

प्रदेश सरकारले निजामती सेवा ऐन बनाउन नसक्दा र स्थानीय तहले सेवा ऐन बनाउन नसक्दा कर्मचारी प्रशासन प्रभावित हुँदै आएको छ । यसैगरी, तय गरिएका अन्य कार्यनीतिमा स्थानीय तहको समन्वय, अनुगमन र प्रतिवेदन प्रणालीमा जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी बनाउने लक्ष्य निर्धारण गरिएको छ ।

संघीयता कार्यान्वयन सम्बन्धमा विज्ञसँग नीतिगत पृष्ठपोषण लिइने नीति तय गरिएको छ । संघीयता कार्यान्वयन सहजीकरणअन्तर्गत अन्य रणनीतिमा स्थानीय तहको क्षमता विकास तथा संस्थागत सुदृढीकरण गरिने छ र यसका लागि स्थानीय तहमा आवश्यकताअनुसार नमूना कानून तयार गरिने, संघीयता सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान कार्यनीति बनाइएको छ ।

यसैगरी, स्थानीय तहले हासिल गरेको उपलब्धि एकीकृत राष्ट्रिय उपलब्धिमा समावेश गर्ने, स्थानीय तहको अनुदान वितरण कार्यसम्पादनसँग आबद्ध गर्ने र स्थानीय तहको दीगो सन्तुलित र आर्थिक तथा सामाजिक विकासका लागि समन्वय र सहजीकरण रणनीति बनाइएको छ ।

१० वर्षे रोडम्याप अनुसार सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन प्रभावकारी बनाइने छ । जसमा संघ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारी अनुरूप जनशक्ति प्रक्षेपण गरी सार्वजनिक सेवामा प्रतिभावान् व्यक्तिको आकर्षण अभिवृद्धि गर्ने खाले नीति अख्तियार गरिने छ ।

निजामती कर्मचारीमा पेशागत आचरण र व्यावसायिक दक्षता अभिवृद्धि गरिने छ भने प्रशासन सुधारलाई निरन्तर अघि बढाइने योजना बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सार्वजनिक सेवा प्रभावकारी बनाउन प्राज्ञिक निकाय तथा विज्ञसँगको सहकार्यमा अध्ययन अनुसन्धान नीति पनि तय गरिएको छ ।

मन्त्रालयका अनुसार सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्न सार्वजनिक सेवामा नागरिकको सरल सहज र सुलभ पहुँच सुनिश्चित गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट प्रवाह गरिने सार्वजनिक सेवामा गुणस्तरीयता कायम गर्न आवश्यक नीति कानून तथा मापदण्ड तयार गरी लागू गरिने लक्ष्य निर्धारण गरिएको छ ।

सार्वजनिक सेवा प्रवाह नागरिकमैत्री बनाइने, सेवाको कार्यसञ्चालन मापदण्ड (एसओपी) तयार गरी लागू गरिने जनाइएको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्