
भारतको पश्चिम बंगालमा ३५ वर्षीय अब्बास सिद्दीकीले इन्डियन सेक्युलर फ्रन्ट नामक पार्टी बनाएका छन् ।
अहिले सिद्दीकी बंगालको राजनीतिक चर्चाको केन्द्रमा आइपुगेका छन् ।
उनी लेफ्ट फ्रन्टसँग मिलेका छन् र कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा फेब्रुअरी २८ मा आयोजित चुनावी सभामा अप्रत्याशित रूपमा जम्मा भएको भीड उनैले ल्याएको मानिन्छ ।
त्यहाँ सिद्दीकीले गरेको भाषण निकै चर्चित रह्यो । उनले ममता बनर्जी भारतीय जनता पार्टीको बी टीम भएको र उनलाई सत्ताच्युत गर्नुपर्ने बताए ।
अब्बास सिद्दीकीलाई मुख्यधारका पार्टीहरूले धर्मनिरपेक्षताको नाममा प्रतीकहरूको राजनीति गरिरहेको तर नीतिगत रूपमा ठोस कदम नउठाएको जस्तो लाग्छ । ममता बनर्जीले हिजाब लगाएर मुसलमानहरूको भलो हुँदैन, उनले विद्यालय, कलेज, स्वास्थ्य तथा अन्इ आधारभूत कुरामा ध्यान दिनुपर्छ, सिद्दीकी भन्छन् ।
ममताले हिजाब लगाएको अनि कोलकाताका मेयर बबी हाकिमले दुर्गापूजा आयोजन गरेको विषयमा अब्बास सिद्दीकी भन्छन्, ‘गलतलाई गलत भन्ने हिम्मत हुनुपर्छ । मसँग भेट्नका लागि टोपी वा हिजाब लगाउन आवश्यक छैन । यसले इस्लामको इज्जत बढाउँदैन । यो कुनै नियम हैन । मस्जिदमा नमाज पढ्नका लागि शिरमा कपडा आवश्यक हुन्छ । तर चुनावको समयमा यसो गर्दा नाटक जस्तो लाग्छ । यो इस्लामको अपमान हो । राजनीतिलाई धर्मबाट पर राख्नुपर्छ । यसलाई मिसमास गर्नुहुँदैन ।’
जाधवपुर विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक अब्दुल मतीनले सिद्दीकीको फुरफुरा शरीफ परम्पराका विषयमा अनुसन्धान गरेका छन् ।
यस चुनावमा सिद्दीकीले पार्टी बनाउँदा ममता बनर्जीलाई के नोक्सानी हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘बंगालको ग्रामीण क्षेत्रमा फुरफुरा शरीफको गहिरो पहुँच छ । त्यसले तृणमूल कांग्रेसलाई क्षति पुर्याउँछ । हाकिम र ममताका विषयमा सिद्दीकीले दिएको बयानसँग म सहमत छु । चुनावको बेलामा मन्दिर वा मस्जिद गएर उनीहरूले नाटकै गरेका हुन् ।’
प्राध्यापक मतीन थप्छन्, ‘बंगालको साम्प्रदायिक माहौल बिगार्नमा ममता बनर्जीको योगदान छ । उनले मुस्लिम तुष्टीकरणको नीति लिएका छन् । ईमामखाता, कलमा पढ्ने र हिजाब लगाउने काम साम्प्रदायिक राजनीतिलाई प्रोत्साहन हो । तृणमूलले सत्ता पाउनका लागि यस बहसलाई अघि बढाएमा मुसलमानहरूले उसलाइृ भोट दिँदैनन् । भाजपा सत्तामा आउँछ । तृणमूल पनि बाँकी कथित धर्मनिरपेक्ष पार्टीहरूको यसै तर्कका आधारमा मुसलमानहरूको भोट ल्याउने कोशिश गरिरहेको छ ।’
उनी थप्छन्, ‘मुसलमानहरूमा भाजपाको डर भएमा तृणमूललाई फाइदा हुन्छ अनि हिन्दूहरूमा मुसलमानको डर भएका भाजपालाई फाइदा हुन्छ । दुवै दल यस चुनावलाई यही लाइनमा ल्याउने कोशिश गरिरहेका छन् । सन् २०१६ को चुनावमा तृणमूलले जति मुसलमानहरूलाई भोट दिएको थियो, यसपालि दिएन । तणमूलको राजनीति अब उदांगो भइसकेको छ । ममता पनि बहुसंख्यकवादको राजनीति नै गरिरहेकी छन् । सीपीएम र कांग्रेसको मोर्चा तृणमूल र भाजपाको बाइनरी पोलिटिक्सका लागि झड्का हो ।’