प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन् । सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन् ।
'रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । म नियमित रक्तदाता भएकामा गर्व गर्दछु', उनले भने ।
उनले विशेष गरी प्रदेश २ मा रक्तसञ्चार सेवा वृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देशभरिका रक्तसञ्चार केन्द्रलाई उनको सुझाव छ ।
सो अवसरमा प्रदेश प्रमुख झालाई सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदाता पिन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए ।
उनले भने, 'रगतका अभाव हुन नदिन सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।'
केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवाको अवधारणा’ अनुसार रक्तसञ्चार गतिविधि अघि बढाइएको जानकारी दिए ।
उनले रक्तदान गरेकोमा प्रदेश प्रमुख झालाई धन्यवाद पत्रसमेत प्रदान गरे ।
हालैमात्र उनले निर्देशक पदको जिम्मेवारी सम्हालेका हुन् ।
सुलभ, गुणस्तरीय र मर्यादित रक्तसञ्चार सेवाका लागि प्रदेश नं २ र कर्णाली प्रदेशमा पनि प्रदेशस्तरीय रक्तसञ्चार केन्द्र बनाउने जानकारी उनले दिए ।
उनका अनुसार विगत चार महिनाका अबधिमा मात्र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र कालीमाटीले दशहजार भन्दा वढी युनिट रगत सङ्कलन गर्न सफल भएको छ ।
सङ्कलित रगत विरामीको आवश्यकता अनुसार वितरण समेत गरेको छ ।