
प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो प्रदूषणका कारण केही दिनयता स्वास्थ्यमा आफूले पनि असहज महशुस गरेको बताएका छन् ।
रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरे ।
‘आगलागीको परिणाम स्वरूप उत्पन्न वायु प्रदूषणले केही दिनयता आफूले मैले समेत असहज महशुस गरेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’
उनले उच्च वायु प्रदूषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाइजहाज र हेलिकप्टरको प्रयोग गर्न पनि सम्बद्ध निकायहरूलाई निर्देशन दिए ।
ठूलो मात्रामा र विकटका जंगलमा लागेको डडेलो नियन्त्रणमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने उनले बताए । ‘अहिलेका जस्तो आगलागीमा प्रयोग गर्न सकिने र अरू बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीको भनाइ थियो ।
यसका साथै हाल देशमा भएकै हवाइजहाज वा हेलिकप्टरमा अग्नि नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सोका लागि समेत कार्य प्रारम्भ गर्न पनि उनले निर्देशन दिए । यस कार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा प्रधानमन्त्री ओलीको थियो ।
कार्यक्रममा प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरूप नै पूरा हुने दिशामा अघि बढिरहेको बताए ।
साथै वीरेन्द्र सैनिक अस्पताललाई ठूलो जनधनको क्षतिका बेला काम गर्न सक्ने स्तरमा पुर्याउने, बंकरहरूलाई ब्यारेकमा स्थानान्तरण गर्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनालगायतका विषयमा कार्य अघि बढिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा चौमासिक प्रगति विवरण पेश गर्दै रक्षा सचिव रेश्मिराज पाण्डेले केही सामान्य चुनौतीका बावजुद लक्ष्य अनुरूप नै प्रगति भएको उल्लेख गरे ।