
महिलाले बलात्कारको झूटा आरोप लगाएर जेल पठाउँछिन् भन्दा सामान्यतया विश्वास लाग्दैन । तर भारतको उत्तर प्रदेशस्थित अलिगढ थानाको अतरौली क्षेत्रमा एक महिलाले आतंक नै फैलाएकी छन् ।
ती महिलाले गाउँका पुरुषहरूसँग पैसा माग्ने गरेकी छन् र मागेजति पैसा नदिए बलात्कारको झूटा आरोप लगाउँदै मुद्दा गरेर जेल पठाउने गरेकी छन् ।
ती महिलाले स्थानीय स्तरका ३–४ गाउँका पुरुषमाथि आतंक नै मच्चाएकी छन् । स्थानीय गाउँ काशी महापुर, खुशीपुरा लगायत क्षेत्रमा ती महिलाको आतंक नै छ ।
आतंक बढी नै भएपछि गाउँलेहरू प्रहरीसमक्ष पुगेका छन् । ती महिलाले केही दिनअघि विष सेवन गरेकी थिइन्, जसमा ४ व्यक्ति फसाइएका छन्, जसमध्ये १ महिला डेढ वर्षको बच्चासहित जेलमा राखिएकी छन् ।
यसबारेमा गाउँलेले प्रहरीलाई लिखित उजुरी दिएका छन् । स्थानीयका अनुसार ती महिलाले मागेअनुसार २ लाख रुपैयाँ नदिएपछि गत १५ जनवरीमा एक उजुरी प्रहरीमा दर्ता गरिएको थियो ।
डीएसपी सुदेश गुप्ताले उजुरीबारे जानकारी दिँदै अनुसन्धान भइरहेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।