२८ जेठ २०८३, बिहीबार

भरे महत्त्वपूर्ण मिटिङ छ, सरकार परिवर्तनको छलफललाई टुंगोमा पुर्‍याउनुपर्ने छ– प्रचण्ड

भरे महत्त्वपूर्ण मिटिङ छ, सरकार परिवर्तनको छलफललाई टुंगोमा पुर्‍याउनुपर्ने छ– प्रचण्ड
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार परिवर्तनको विषयलाई टुंगोमा पुर्‍याउन छलफल भइरहेको बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय महिला नेता/कार्यकर्ताको भेलालाई बिहीवार सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले छिट्टै त्यसलाई निष्कर्षमा पुर्‍याइने बताए ।

'सबै कुरा राख्न त भ्याउँदिन, अहिले नै नेपालगञ्ज हुँदै काठमाडौं फर्किनुपर्ने छ,' प्रचण्डले भने, '​​भरे काठमाडौंमा महत्त्वपूर्ण मिटिङ छ । तपाईंहरूलाई थाहा छ सरकार परिवर्तनको छलफल चलिरहेको छ, त्यसलाई टुंगोमा पुर्‍याउनुपर्ने छ ।'

प्रचण्डले मुलुकमा प्रतिक्रान्तिको खतरा अझै कामय रहेको समेत बताए ।

'खतराको घण्टी बजिरहेकै छ । प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्ने काम प्रधानमन्त्रीज्यूबाट भयो । अझै पनि प्रतिक्रान्तिका खतरा कायम छन्,' प्रचण्डले भने, 'मैले सोचें । यो क्रान्तिलाई बालुवाटारमा बालुवा पेलेर बचाउन सकिएन । मैले एउटा संकल्प गरें र देशकै एउटा विशिष्ट कर्णाली प्रदेशमा आएको छु । काठमाडौंको घेराबन्दीलाई चिर्ने ताकत चाहिँ श्रमजीवी जनताबाहेक कसैमा छैन ।'

प्रतिक्रान्तिका षडयन्त्रलाई चिर्न फेरि एकपटक हिजोकै जस्तो स्पिरिट र हिजोको जस्तै एकता चाहिएको पनि प्रचण्डले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्