कहिलेकाहीँ प्रविधिमा बढी विश्वास गर्दा पनि धोका पाइन्छ ।
इन्डोनेसियामा एउटा जन्ती प्रविधिको धोकामा परेको छ । बिहेको दिन दुलहीको घर पुग्नका लागि जन्तीले गूगल म्यापको सहारा लियो । तर प्रविधिमा गडबडी हुँदा जन्ती गलत घरमा पुगेछ ।
ट्रिब्युन न्युजमा छापिएको खबरअनुसार, जन्ती मध्य जाभाको पाकीज जिल्लामा रहेको लोसारी ह्याम्लेट जानुपर्ने थियो । त्यहाँ पुग्नका लागि जन्तीले गूगल म्यापको सहारा लियो ।
शुरूमा त उनीहरू सही बाटोमै गइरहेका थिए तर प्रविधिले उनीहरूलाई नजिकैको जेंगकोल ह्याम्लेट पुर्याइदियो । वास्तवमा यी दुवै ठाउँ एउटै गाउँका दुई इलाका हुन् । त्यसैले म्यापले यिनीहरूमा अन्तर गरेन ।
जन्ती जुन घरमा पुगेको थियो, त्यहाँ पनि बिहेको तयारी चलिरहेको थियो । दुलही पक्षले लामो यात्रा गरेर पुगेको जन्तीलाई ख्वायो प्यायो ।
अनि कुराकानी गर्दै जाँदा दुलहीको परिवारलाई भूलको अनुभव भयो । राम्ररी कुराकानी गर्दै जाँदा कुरा खुल्दै गयो । दुवै पक्ष भूल मानेर खुशी खुशी बिदा भए ।
दुलही उल्फाले जन्ती घरमा आइपुग्दा उपहार दिएर स्वागत गरेको बताइन् । पछि ध्यान दिएर हेर्दा दुलाहा अनि जन्तीका कसैलाई पनि नचिनेपछि हुनेवाला पतिलाई उनले फोन गरिन् । दुलाहाले हामी त बाटामै छौं, पिसाब लागेको भएर शौचालय खोज्दैछौं भने ।
दुलहीले यसको जानकारी परिवारका मानिसलाई दिँदा उनीहरू छक्क परे । कुरा गर्दै जाँदा गूगल म्याप गलत पढेकाले गल्ती भएको थाहा भयो ।
पछि उल्फाको परिवारले जन्तीलाई सही घरमा पुर्याएको थियो ।