०५ असार २०८३, शुक्रबार

कोरोनाविरुद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

कोरोनाविरुद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

दोस्रो चरणमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान पुरानो बसपार्कबाट सोमवारदेखि थालेको छ ।

‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ अभियान थालनी गरिएको हो ।

कार्यक्रममा बोल्दै ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रुपमा फैलिरहेको कोभिड–१९ विरुद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सोमवारदेखि शुरूआत गरिएको बताए ।

कोरोनाबाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले बेलैमा सुरक्षा सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा उपस्थित यातायात व्यवसायी, मजदुर संघ युनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानद्वारा सवारीसाधनमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई कोरोना भाइरसबाट कसरी सुरक्षित रहने भन्ने सम्बन्मा आ–आफ्नो विचार राखेका थिए । 

आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर रहेको बताइएको छ ।

सम्पूर्ण चालक, सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारीसाधनको प्रयोग गर्न हुन महाशाखाले विशेष अनुरोध गरेको छ ।

‘सवारीसाधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माइक्रो तथा बसमा टाँस गरिने महाशाखाले जनाएको छ ।

कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य–मुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारीसाधनमा हुने भीडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्