
भारतको मध्य प्रदेशको राजधानी भोपालमा साङ्लाको डरले एक महिलाले पटकपटक डेरा सर्न लगाएकी छन् ।
यस दम्पतीको विवाह भएको तीन वर्ष भएको छ र यसबीचमा उनीहरूले १८ पटक डेरा सरिसकेका छन् ।
पतिका अनुसार उनकी पत्नी साङ्लोसित असाध्यै डराउँछिन् र डेरा सर्न दबाब दिन्छिन् । यसरी डेरा सरिरहँदा साह्रै हैरान खेप्नुपरेको उनको गुनासो छ ।
ककरोच देख्नेबित्तिकै पत्नी डरले चिच्याउने गरेको र घरको सामान बाहिर सडकमा ल्याएर राख्ने गरेको पति बताउँछन् । पतिलाई पत्नीको यस्तो हर्कत देखेर दिक्क लाग्न थालेको छ र पारपाचुके लिने फैसला लिएका छन् । यसका लागि पतिले कानूनी सहायता मागेका छन् ।
पत्नीलाई विभिन्न मनोचिकित्सककहाँ लगिसकेको भए पनि औषधि खान नमानेर रोग पालिरहेको उनको भनाइ छ ।
पत्नी चाहिँ पतिले आफ्नो समस्या नबुझेको र पागल घोषित गर्नका लागि औषधि खुवाइरहेको आरोप लगाउँछिन् ।
बिहे सन् २०१७ मा भएको र पहिलोपटक सन् २०१८ मा डेरा बदलेको पतिले जानकारी दिए । त्यसपछि १७ पटक डेरा सरिसकेको उनी बताउँछन् ।