०९ असार २०८३, मंगलबार

रञ्जु दर्शना : राजनीतिक संस्कारमा पनि अब्बल

कात्तिक २०, २०७४
रञ्जु दर्शना : राजनीतिक संस्कारमा पनि अब्बल
काठमाडौं, १४ जेठ – निर्वाचनमा जीत र हार स्वाभाविक हो । तर हाम्रोमा राजनीतिक संस्कारको कमीका कारण पराजितहरूले पीडा महसूस गर्ने र घरभित्रै बस्ने अनि जितेकाहरूले बढी तामझाम गर्ने देखिने गरिएको छ ।

‘स्पोर्टम्यानशिप’ मा भएको कमीका कारण पराजित भएकाले त्यसलाई स्वीकार गर्न सक्दैनन् भने विजयीहरूले पराजितलाई बेवास्ता गर्ने प्रचलन विद्यमान छ । तर आइतवार राजधानी काठमाडौं महानगरपालिकाको अन्तिम मत परिणाममा भने त्यस्तो देखिएन ।

मनोनयन दर्ता गरेदेखि नै चर्चामा रहेकी नयाँ पुस्ताकी उम्मेदवार रञ्जु दर्शनाले विजय जुलुसको बीचमै आफ्ना प्रतिद्वन्द्वी महानगरपालिकाका विजयी उम्मेदवारलाई फूलमाला लगाएर बधाई दिइन् ।

पराजित भएपछि अनुहार लुकाएर बस्ने उम्मेदवारको अगाडि अनुभव नभएकी आरोप लाग्ने गरेकी रञ्जुले राजनीतिक परिपक्वता देखाएकी छिन् । यसको सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ ।

हुन त उनी मेयर पदमा तेस्रो भइन् तर रञ्जुले आफ्नो काँचुली फेर्दै गरेको राजनीतिक संस्कार भने अब्बल रहेको स्पष्ट देखाइन् ।

काठमाडौं मतगणनास्थलमा कतिपय दलका नेताहरूका मत प्रतिस्पर्धात्मक रूपमा आइरहँदा चौबीसै घण्टा मतगणनास्थलमा देखिनेहरू पनि हार्ने सुनिश्चित भएपछि नाकमुखै नदेखाउने र दुलोभित्र लुक्ने प्रवृत्ति छ ।

तर रञ्जुले आइतवार विजय जुलुसमा सहभागी भएका मेयरमा विजयी एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा जितेकी हरिप्रभा खड्गीलाई बधाई दिन मतगणनास्थलमै उभिरहिन् । अनि विजयी उम्मेदवारलाई भेटेर फूलमालाले स्वागत मात्रै गरिनन्, सँगसँगै सहकार्य गर्दै अगाडि बढ्ने संकल्पसमेत गरिन् ।

आफू साँच्चिकै राजनीतिक नेत्री भएको प्रमाण देखाइन् रञ्जुले । सशक्त स्पोर्टम्यानशिपको उदाहरण दिइन् उनले ।

२१ वर्षीया रञ्जु दर्शनाले उम्मेदवारी दिएको दिनदेखि कमाएको चर्चा त्यतिबेला प्रमाणित गरिन्, जतिबेला उनले २३ हजार ४ सय ३९ मत पाइन् । उनले यो मतमा आफ्नो विजय भएको भन्दै आम मतदातालाई पूर्ण परिणाम आउनु दुई दिनअघि नै धन्यवाद दिइन् ।

महानगरको मेयरमा कम उमेरमै ठूला भनिएका पार्टीलाई टक्कर दिन सफल रञ्जुलाई धेरै भोट ल्याउन नसक्ने भन्दै आलोचना गर्नेहरू पनि थिए । तर उनले ती सबैलाई जबर्जस्त मत ल्याएर मुखभरिको जवाफ दिएकी छिन् ।
मतगणनाको शुरुको दिनदेखि अन्तिम दिनसम्म पनि रञ्जु मतगणनास्थलमा आफैं खटिएकी थिइन् । उनले माओवादी केन्द्रका सर्वोत्तममान डंगोललाई भारी मतले पछाडि पारिन् ।


मेयर पदमा पराजित भएपनि मनोवैज्ञानिक रूपमा अब्बल रहेको मान्छिन् उनी आफूलाई । उनी भन्छिन्, ‘काठमाडौंका २३ हजारभन्दा बढी जनताले मेयर पदमा विश्वास गरेर मत दिएका छन् । उनीहरूले त मलाई नै आगामी मेयर पदमा चुनेका थिए ।’

यति छोटो चुनावी प्रचार अभियानको क्रममा पनि काठमाडौंमा यति ठूलो मत ल्याउनु आफैंका गर्वको विषय भएको भन्दै आफूलाई मत दिने सबैलाई उनले आभार प्रकट गरिन् ।

‘निर्वाचनमा हारजीत स्वाभाविक रहेको भन्दै मेयर पदमा हारेपनि जनताको माझ म जितेझैं लाग्छ र यो भावनालाई निर्वाचन परिणामले फरक पार्दैन,’ उनले भनिन् ।

हार व्यहोरेपनि सुन्दर महानगर बनाउन प्रतिबद्ध रहने भन्दै विजयी उम्मेदवारसँग सहकार्य गर्दै अघि बढ्ने रञ्जुले बताइन् ।

यो हारबाट आफ्नो राजनीतिक यात्रामा पूर्णविराम नलाग्ने भन्दै उनले आफूजस्तै धेरै रञ्जुहरूको जन्म भइसकेको र यो शुरुवात मात्रै भएको उनले बताइन् ।

जनताले आफूलाई विश्वास गरेको भन्दै आफ्नो जिम्मेवारी अझ बढेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्