०७ असार २०८३, आइतबार

भरतपुरले भोलि मेयर पाउँदै, यसो भन्छ गणित !

कात्तिक २०, २०७४
भरतपुरले भोलि मेयर पाउँदै, यसो भन्छ गणित !

चितवन, १४ जेठ– पहिलो चरण अन्तर्गत वैशाख ३१ गते सम्पन्न चुनावको अधिकांश स्थानको मतगणना सार्वजनिक भइसकेको छ ।

अब भरतपुर र भक्तपुरको एक एक स्थानीय तहको नतिजा सार्वजनिक हुन बाँकी छ । भक्तपुरको चाँगुनारायण नगरपालिका र चितवनको भरतपुर महानगरपालिकामा मत गणना भइरहेको छ । तर, सिल नम्बरमा विवाद आएपछि केहीबेर अघिबाट मतगणना रोकिएको छ । र पुनः सुचारु गर्नका लागि पहल भइरहेको छ ।

भरतपुर महानगरपालिकामा सबैको चासो छ किनकि त्यहाँ प्रधानमन्त्री प्रचण्डकी छोरी मेयरको लडाईंमा छिन् । र उनलाई नेपाली कांग्रेसले साथ दिएको छ ।

तर एक्लै भिडेका एमालेका उम्मेदवार देवी ज्ञवालीलाई परास्त गर्न केन्द्रबाट नै गठबन्धनका निर्णय गरेको कांग्रेस–माओवादीलाई हम्मेहम्मे परिरहेको छ ।

मतगणना शुरु भएका १५ दिन बित्नै लाग्दा गठबन्धनकी उम्मेदवार रेणुले करीब आधा दिन मात्र अग्रता कायम गर्न सकिन् । अन्यथा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएका लियै छन् ।

नेपाली कांग्रेसको गढका रूपमा रहेको चितवन माओवादीलाई जिम्मा लगाएको कांग्रेसले पोखरा आफ्नो पोल्टामा पर्ला भन्ने सोचेको थियो तर त्यहाँ पनि नेकपा एमालेका उम्मेदवारसँग कांग्रेसका उम्मेदवार भारी मतान्तरले पराजित भए । त्यसबाट माओवादी–कांग्रेस गठबन्धनलाई धक्का पुगेको छ ।

के हुँदैछ भरतपुरमा ?

भरतपुर महानगरको मतगणना सकिनका लागि दुई वडा मात्र बाँकी रहदा भरतपुरका स्थानीय र मतदाताको मात्र होइन देशभरिका र विदेशमा रहेका नेपालीको धड्कन समेत तेज भएको हो ।

कसले चुनाव जित्छ भन्ने गणित गर्नमा स्थानीय मतदाता, पत्रकार, विश्लेषक व्यस्त छन् । ढुक्क हुने अवस्थामा कोही पनि छैनन् ।

उम्मेदवार आफैं पनि जितिन्छ भन्नेमा ढुक्क देखिएका छैनन् । तर एमालेका उम्मेदवार देवी ज्ञवालीले आफू सुरक्षित रहेको बताउने गरेका छन् ।

अब कुनै रुकावट र समस्या नआएको खण्डमा भरतपुरले भोलि पहिलो मेयर पाउने छ । पछिल्लो समय प्रधानमन्त्रीपुत्री रेणुले देवीसँगको मतान्तर कम गराउँदै लगेकी छन् । तर मतगणना लगभग अन्तिम चरणमा पुग्दै गर्दा उनलाई मेयरको चेयरमा बस्न मुश्किल देखिन्छ ।

अब वडा नम्बर १९ र २० को मात्रै मत गन्न बाँकी रहेको छ । यी दुवै वडा कांग्रेसका पकड एरिया हुन् । तर कांग्रेसका पकड मानिने वडाबाट पनि एमालेका देवीले भोट पाइरहेका छन् । कांग्रेस मतदाताले वडाध्यक्षमा कांग्रेसलाई राम्रै भोट दिँदै गर्दा मेयरमा चाहिँ रेणुको भोट काटेर देवीलाई दिइरहेका छन् ।

तर पनि रेणुले आफ्नो मतान्तर कम गराएकी छन् । वडा नम्बर २१ को मत गणना सकिँदा उनले देवीले भन्दा ३ सय ६१ मत बढी पाएकी छन् । अहिले उनले मतान्तर घटाएर ७ सय ८४ मा ल्याएकी छन् ।

अब वडा नम्बर १९ र २० को मतगणना हुन बाँकी रहेको छ । यी दुई वडामा रहेको ६१ सय ६२ मतगणनामा रेणुले प्रगति गर्नुपर्नेछ भने एमालेका ज्ञवाली चाहिँ रक्षात्मक अवस्थामा रहँदा मात्रै पनि हुन्छ ।

ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएकी छन् ।

मतगणनास्थल आसपास निकै चहलपहल छ । मेयरको पद कसले जित्छ भन्नेमा चितवनकै नेता कार्यकर्ताहरू अनुमान लगाउन सकिरहेका छैनन् । कांग्रेसको पकड क्षेत्रको हिसाबले रेणु सहज अवस्थामा हुनुपर्ने हो तर गठबन्धन मन नपराएका कांग्रेस मतदाताले देवीलाई भोट दिँदा उनलाई तनाव भएको हो । तुलनात्मक रूपमा देवी सजिलो स्थानमा छन् किनकि उनले गठबन्धनकै भोट काटिरहेका छन् ।

भरतपुर महानगरपालिकाको मतगणना कवर्ड हलमा भइरहेको छ । जिल्ला विकास समितिको कार्यालयअघि रहेको उक्त हलमा मतगणना भइरहेको हो । कवर्ड हलको बाहिर बसेर मतगणनाको समीक्षा गर्न कार्यकर्ताहरू व्यस्त छन् ।

उनीहरू देवी र रेणु दुव हालको अवस्थामा बलियो नभएको तर्क गर्छन् ।

चौध दिनदेखि प्रतीक्षा गरिरहेका दुवैतर्फका शुभेच्छुकलाई अहिले सम्हालिन निकै गाह्रो भएको छ । उनीहरू अधैर्य भइरहेका छन् । कतिबेला अन्तिम नतिजा आउला भनेर उनीहरू बाहिरपट्टि निकै चनाखो बनेर बसेका छन् ।

माओवालीहरूले रेणुले कति मत बढी ल्याइरहेकी छन् भनेर चासो व्यक्त गरेका छन् भने एमालेहरूले चाहिँ देवीले मतान्तरलाई कत्तिको जोगाएका छन् भनेर चासो व्यक्त गरिरहेका छन् ।

बाहिरपट्टि रहेको एउटा समूहले देवीले नै मेयर पद जित्ने आँकलन गरेको छ । कांग्रेसको पकड एरियामै पनि हल्का हल्का भोट झरेमा एमालेले जित्ने उनीहरूको दाबी छ । हरेक वडामा रेणुले ३ सयको अग्रता कायम गरेपनि आफूहरूले जित्ने यी एमाले समर्थकहरूको दाबी छ ।

त्यसको ठ्याक्कै विपरीत माओवादी समर्थकहरूले चाहिँ अब सजिलै आफूहरूले जित्ने दाबी गरेका छन् । वडा नम्बर १९ मा रेणुलाई धेरै भोट आउने दाबी अर्काे एउटा समूहले गरेको छ । वडा नम्बर २० मा त झन् रेणु राम्रो अवस्थामा रहेको उनीहरू बताउँछन् । २० नम्बर वडामा कांग्रेस माओवादी गठबन्धनलाई निकै राम्रो भोट खसेको उनीहरूले दाबी गरे ।

कमेन्ट गर्नुहोस्