२५ जेठ २०८३, सोमबार

चीनसँग भिड्नका लागि अमेरिकाले ल्यायो रणनीतिक प्रतिस्पर्धा विधेयक

बैशाख ९, २०७८
चीनसँग भिड्नका लागि अमेरिकाले ल्यायो रणनीतिक प्रतिस्पर्धा विधेयक

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले चीनलाई मानवअधिकार तथा आर्थिक प्रतिस्पर्धामा दबाब दिनका लागि बुधवार एक विधेयक ल्याएको छ । 

सिनेटको परराष्ट्र सम्बन्ध समितिले रणनीतिक प्रतिस्पर्धा ऐन २०२१ लाई सिनेटसमक्ष मतदानका लागि प्रस्तुत गर्न पठाएको छ । समितिका सदस्यहरूले बेइजिङको सामना गर्नका लागि थप काम गर्नुपर्ने बताए । 

विधेयकमा समितिले कैयौं संशोधन गरेको छ । एक संशोधनअनुसार सन् २०२२ को बेइजिङ ओलम्पिकलाई अमेरिकी अधिकारीहरूले बहिष्कार गर्नैपर्नेछ । 

यससँगै एन्डलेस फ्रन्टियर याक्ट पनि प्रस्तुत गरिएको छ । यसले आगामी पाँच वर्षभित्र आधारभूत तथा विकसित प्रविधि अनुसन्धानका लागि १०० अर्ब डलरको आह्वान गरेको छ भने देशमा नयाँ प्रविधि केन्द्र बनाउनका लागि १० अर्ब डलरको माग गरेको छ ।

रणनीतिक प्रतिस्पर्धा ऐन विधेयकलाई रिपब्लिकन र डेमोक्रेटिक दुवै दलको बलियो समर्थन छ र ऐन बन्ने सुनिश्चित छ । 

कुल २८० पृष्ठको यस विधेयकले साझेदारहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग मिलेर तथा विकासमा लगानी बढाएर चीनसँग प्रतिस्पर्धा गर्ने उल्लेख छ । यसले अल्पसंख्यक मुसलमान उइगुरप्रतिको व्यवहारका लागि चीनलाई प्रतिबन्ध लगाउने र हङकङमा लोकतन्त्रको समर्थन गर्ने पनि बताएको छ । 

यस विधेयकले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको राजनीतिक अभीष्ट पूरा गर्नका लागि आवश्यक सैन्य लगानीलाई प्राथमिकता दिन पनि जोड दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्