
नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्ष भने उपस्थित छैन ।
पार्टीको संसदीय दलले खनाल-नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेको अवस्थामा आजको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।
आफूलाई लागेको आरोपको खण्डन र प्रतिवादसहित सांसदहरूले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सांसदहरूलाई कारवाही हुनसक्ने सम्भावना पनि छ ।
कर्णाली प्रदेशमा फ्लोर क्रशपछि प्रधानमन्त्री ओली खनाल-नेपाल पक्षलाई अनुशासनको कारवाही गर्ने मनस्थितिमा छन् ।
उनले सार्वजनिक मञ्चहरूबाट नै अनुशासन उल्लंघन गर्नेहरूलाई कारवाही गर्ने बताउँदै आएका छन् ।
यसबीचमा बुधवार र बिहीवार अध्यक्ष ओली र नेता माधव नेपालबीच भेटवार्ता भएको थियो । भेट सौहार्दपूर्ण हुन नसकेको नेता नेपालले बताइसकेका छन् ।