काठमाडौं, १५ जेठ- संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४/७५ को बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकारलाई बजेटको आकार थप बढाउन बाटो खुलेको छ ।

बजेटका लागि करिब ७ खर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदान/ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालु आर्थिक वर्षको बचत/साँवा फिर्ताबाट जुटाइनेछ । नयाँ कार्यक्रम नराखिएको, ठूलो रकम विनियोजित राष्ट्रिय गौरवका अधिकांश योजनाको कार्यान्वयन सुस्त रहेको, कर्मचारीको तलब/भत्ता वृद्धि नगरिएको बजेट भए पनि आकार ठूलो हुने भएको छ ।
स्थानीय तहमा वित्तीय हस्तान्तरण नगरी नहुने अवस्थामा मन्त्रालयले अधिकांश कार्यक्रम केन्द्रमै राख्ने अड्डी कसेकाले बजेटको आकार बढाउन लागिएको हो । तैपनि, बजेट चालु आर्थिक वर्षको जस्तै कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४० प्रतिशत हाराहारीमा हुनेछ । ‘नयाँ कार्यक्रम विनाको तर वित्तीय अनुशासन र कार्यान्वयन केन्द्रित बजेट हुनेछ', अर्थको बजेट महाशाखासम्बद्ध स्रोतले भन्यो । नयाँ कार्यक्रम नराख्ने भनेपछि शक्तिशाली उच्चपदस्थको अनुरोधका केही कार्यक्रम घुसाइएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।