![यी ११ प्रस्ताव पारित गर्दै सकियो एमाले बैठक [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/UML_Meeting_n6wHE7Qz7g.jpg)
विभिन्न ४ वटा निर्णय र ११ वटा प्रस्ताव पारित गर्दै सत्तारुढ नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकपछि प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार यस्ता छन्, प्रस्ताव :
१. समानान्तर गतिविधि गरेका साथीहरूलाई त्यस्ता गतिविधि रोक्न, पार्टी एकतामा योगदान गर्न र मूल प्रवाहमा सहभागी हुन आग्रह गर्ने । भूलवश समानान्तर कमिटीमा बसेकालाई अलग हुन तथा जनप्रतिनिधिलाई टिकट दिने पार्टीको पक्षमा उभिन आग्रह गर्ने ।
२. संकटको समयमा पार्टीको पक्षपोषण गर्नेलाई हार्दिक धन्यवाद दिने ।
३. आसन्न उपनिर्वाचनको तयारीमा सम्पूर्ण रूपले तयारीमा लाग्ने ।
४. फागुन २१ गते विप्लव समूहसँग भएको ३ बुँदे सहमतिको स्वागत गर्दै सरकारको नेतृत्वमा पृथकतावाद अन्त्य हुनु उपलब्धि भएको निष्कर्ष ।
५. कोरोना महामारीमा विगतमा तुलनात्मक रूपमा प्रभावकारी काम गर्यौं । फेरि संक्रमण बढ्न लागेको समयमा थप प्रभावकारी कदमका लागि सरकारसँग ध्यानाकर्षण । स्वाथ्य शतर्कता पालना गर्न सबैसँग आग्रह गर्ने ।
६. सम्पूर्ण पार्टी पंक्तिलाई भोलेन्टियर भएर गाउँमा जनचेतना जगाउने, क्वारेन्टाइन बनाउन परिचालित हुन आग्रह गर्ने ।
७. केन्द्रीय सदस्य दिनेश यादवप्रति श्रद्धाञ्जलि ।
८. उपचार गराइरहेका डम्बरबहादुर सम्वाहाम्फेको शीघ्र स्वास्थ्यलाभको कामना ।
९. मुस्लिमहरूको चाड रमाजानप्रति शुभकामना व्यक्त गरेको छ ।
१०. आगलागी, डढेलो असिनाले गरेको क्षतिप्रति चिन्ता र राहतका लागि सरकारसँग आग्रह गर्ने ।
११. बर्मामा सैन्य कूको विरोध र आङ साङ सुकीलगायत निर्वाचित जनप्रतिनिधिको समर्थन गर्दै प्रजातन्त्र बहाल गर्न आग्रह गर्ने ।