काठमाडौं १५ जेठ– काठमाडौं महानगरपालिकाको मेयरका लागि भएको अन्तिम मतपरिणामले माओवादी केन्द्र र माओवादीबाट अलग भएको नयाँ शक्तिले उस्तै प्रकृतिको मत पाएका छन् ।
मेयरमा विजयी नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत पाएका थिए । कांग्रेसका राजुराज जोशीले ४५ हजार हाराहारी मत पाए । विवेकशील पार्टीकी रञ्जु दर्शनाले २३ हजार र साझा पार्टी समर्थित किशोर थापाले १८ हजार ४ सय ६९ मत पाएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दल माओवादी केन्द्रबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत पायो । माओवादीले लगभग ८ हजार भोट पाउँदा माओवादीबाट अलग्गिएका डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीले ६ हजार भोट कटायो ।
सुरुवाती मतगणनामा अत्यन्त न्यून भोट पाएका नयाँ शक्ति पार्टीका उम्मेदवार पवित्र बज्राचार्यले ६ हजार ५० भोट पाए । संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेर उसैको चुनाव चिह्नबाट नयाँ शक्ति पार्टीले चुनाव लडेको थियो ।
स्थापना भएको एकबर्ष नपुग्दै चुनावमा गएको नयाँ शक्तिका नेताहरु काठमाडौंमा पाएको मत ‘सम्मानजनक’ भएको बताउँछन् ।