०७ असार २०८३, आइतबार

कोरोना भयावह : आईसीयू शय्या नपाउँदा छट्पटाउँदै मृत्यु

बैशाख १५, २०७८
कोरोना भयावह : आईसीयू शय्या नपाउँदा छट्पटाउँदै मृत्यु

आईसीयू शय्या नपाउँदा रुपन्देहीको देवदहकी १ कोरोना संक्रमित महिलाले अस्पतालकै ‘फिवर क्लिनिक’मा छट्पटिएर ज्यान गुमाएकी छन् ।

रुपन्देहीको देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको मंगलवार साँझ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको क्लिनिकमा मृत्यु भएको हो ।

उनी देवदह नगरपालिकाका जनप्रतिनिधिकी पत्नी हुन् । ३ दिनअघि उनलाई ज्वरो आएपछि नजिकैको क्लिनिकमा गएर औषधि ल्याएर खाएकी थिइन ।

मंगलवार बिहान उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पतालमा ल्याइएको थियो । बिहान ९ बजे अस्पताल ल्याइएकी महिलाको शय्या नपाउँदा छट्पटिएर साँझ अस्पतालमै मृत्यु भएको छ ।

देवदह नगरपलिकाका प्रमुख हिराबहादुर खत्रीले आईसीयू नपाउँदा बिरामीको मृत्यु भएको बताए । 

‘उहाँलाई गाह्रो भएपछि बिहान ९ बजे अस्पताल पुर्‍याएका थियौं,’ खत्रीले लोकान्तरसँग भने, ‘प्रादेशिक अस्पताल, भीम अस्पताल, क्रिमसन, काठमाडौंको ग्राण्डी, ह्याम्स लगायतका सबै अस्पतालमा आईसीयूको खोजी गर्‍यौं । तर कहीँकतै आईसीयू बेड छैन भने । अन्ततः केही उपाय लगेन । अस्पतालको फिवर क्लिनिकमा बिरामी छट्पटाउँदा–छट्पटाउँदै मृत्यु हेर्न बाध्य भइयो ।’ 

खत्रीले फिवर क्लिनिकमा पनि बल्लबल्ल शय्या मिलेको गुनासो गरे । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बिरामीलाई आईसीयू आवश्यक भए पनि शय्याहरू खाली नहुँदा फिभर क्लिनिकमै उपचारको क्रममा मृत्यु भएको बताए । 

गौतमले लोकान्तरसँग भने, ‘उहाँलाई क्लिनिकमा देखाएर ल्याउनुभएको रहेछ । यहाँ ल्याएर जाँच गर्दा कोरोना देखियो । हाम्रोमा बेड खाली थिएनन् । उहाँहरूले अन्य अस्पताला पनि बुझ्नुभयो । कही नपाइएपछि हामीले फिभर क्लिनिकमा राखेर उपचार गर्दागर्दै मृत्यु भयो ।’

रुपन्देहीमा कोरोना संक्रमण भुसको आगोझैं सल्किएको छ । जिल्लामा मंगलवार मात्रै ४०० भन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण बढेपछि १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्