भारतमा कोरोनाको कहर चलिरहँदा महाराष्ट्रका ८५ वर्षीय एक वृद्धले मानवताको उदाहरण प्रस्तुत गरेका छन् ।
नारायण नामक ती वृद्धले आफूलाई भन्दा युवालाई जीवनको आवश्यकता छ भनेर आफ्नो शय्या दिएका छन् ।
नागपुरका नारायण दाभडकर कोभिड पोजिटिभ थिए । निकै कोशिश गरेर परिवारले नारायणका लागि अस्पतालको शय्या व्यवस्था गरे । कागजी प्रक्रिया चलिरहेको बेलामा एक महिलाले पतिलाई लिएर अस्पताल पुगिन् ।
उनी पतिका लागि शय्या खोजिरहेकी थिइन् । महिलाको पीडा देखेर नारायणले चिकित्सकलाई भने, ‘मेरो उमेर ८५ वर्ष भइसक्यो । जीवनमा धेरै कुरा भोगिसकेको छु, देखिसकेको छु । बेडको आवश्यकता मलाई भन्दा यी महिलाका पतिलाई छ । उनका बालबच्चालाई पिताको आवश्यकता छ ।’
नारायणले भने, ‘ती महिलाका पतिको मृत्यु भएमा बच्चाहरू अनाथ हुन्छन् । उसको प्राण बचाउनु मेरो कर्तव्य हो ।’ त्यसो भन्दै उनले महिलाका पतिलाई शय्या दिए ।
अनि नारायण आफू घर गए र त्यहाँ नै उपचार गर्न थालियो । घरमा तीन दिनपछि उनको मृत्यु भयो ।
उनी राष्ट्रिय स्वयंसेवक संघसित जोडिएका थिए ।
उनको पवित्र तथा निःस्वार्थ सेवाभावलाई सबैले प्रणाम गरेका छन् ।