
केही दिनअघि साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टमा चीनले हिमालयन क्वाड नामक आफ्नै सुरक्षा खेमा बनाइरहेको भनी लेखिएको थियो ।
भारतमा कार्यरत बेलारुसका एक कूटनीतिकर्मीलाई उद्धृत गर्दै उक्त रिपोर्टमा हालैका घटनाले सिद्धान्ततः बेइजिङलाई चीन, नेपाल, पाकिस्तान र अफगानिस्तान समेत सम्मिलित हिमालय क्वाडलाई संस्थागत गरी क्वाडलाई सन्तुलनमा राख्ने प्रेरणा दिन सक्ने उल्लेख छ ।
सन् २०२० को जुलाई २७ मा चार देशका परराष्ट्रमन्त्रीहरूको भिडियो कन्फरेन्सपछि हिमालय क्वाडको कुरा चर्काउन थालिएको हो । चीन र उसका छिमेकीबीच सहकार्यको सामान्य संयन्त्र थियो त्यो ।
चीनका परराष्ट्रमन्त्री वाङ यीका अनुसार, यस सम्मेलनको प्रमुख जोड महामारीका विरुद्ध संयुक्त प्रयास, रोकथाम तथा खोप आपूर्तिमा थियो । अनि कोभिडपछिको आर्थिक पुनरुत्थान र विकासमा पनि बैठक केन्द्रित थियो ।
चीन, नेपाल, पाकिस्तान र अफगानिस्तान सबै विकासशील राष्ट्र हुन् । यस संयन्त्रको भविष्य समुज्ज्वल छ किनकि चीन र उसका छिमेकीहरूमा उस्तै खाले पीडा छ । महामारी रोकथाम तथा नियन्त्रणसँगै यी चार मुलुकहरूले अर्थतन्त्र विकसित गर्न र जनताको जीवनयापन सुधार गर्न पर्ने साझा दायित्व वहन गरेका छन् ।
चीन र यी मुलुकहरूबीच सहकार्यको संयन्त्र खुला राखिएको छ र यसमा भूरणनीतिक तथा सैन्य उद्देश्य छैन । सन् २०२१ को जनवरी ६ मा चीन, नेपाल, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशले कोभिड १९ तथा गरीबी निवारण सहकार्यका कार्यसमूहको महानिर्देशक स्तरको पहिलो बैठकल गरेका थिए ।
हिमालय क्वाड भनेको खासमा सहकार्य संयन्त्र हो र मानवजातिका लागि साझा भविष्य सहितको समुदाय बनाउने चीनको प्रयासको यो महत्त्वपूर्ण हिस्सा हो । यो अमेरिका, जापान, भारत र अस्ट्रेलियाबीचको क्वाड्रिल्याटरल सेक्युरिटी डायलोग जस्तो हुँदै हैन ।
हिमालय क्षेत्रका चार मुलुकबीचको सहकार्यभन्दा भिन्न क्वाड सैन्य शक्ति तथा अन्तर्राष्ट्रिय प्रभावका सवालमा शीतयुद्धकालीन मानसिकताबाट निर्देशित सैन्य राजनीतिक गठबन्धन हो । यस किसिमको सानो घेरोले क्षेत्रीय भिडन्त र विभाजनलाई निम्तो दिन्छ । वास्तवमा यो यस क्षेत्रका लागि जोखिमको कुरा हो ।
हिमालय क्षेत्रका चार मुलुकबीच सहकार्यलाई क्वाडको काउन्टरवेट भनी हेर्नेहरूमा अझै पनि शीतयुद्धकालीन मानसिकता छ । शीतयुद्धका बेलामा अमेरिका र सोभयित संघ भिडेझैं चीन भिड्न खोजिरहेको छैन ।
चीन र उसका छिमेकीहरूबीत पारस्परिक हितलाई प्रवर्धन गर्न यो सहकार्य संयन्त्र बनाइएको हो । चीन र यी मुलुकहरूले भविष्यमा गए र गैरपरम्परागत सुरक्षाका क्षेत्रमा जोखिमको सामना गरे भने यी मुलुकले सहकार्यको क्षेत्रफललाई थप बढाउन सक्छन् । यति हुँदाहुँदा पनि हिमालय क्षेत्रका चार मुलुकबीचको सहकार्य र क्वाडको तुलना गर्दा संसारले वास्तविक बहुपक्षीयतावाद र प्रच्छन्न बहुपक्षीयतावादको भिन्नता बुझ्नेछ ।
ग्लोबल टाइम्समा प्रकाशित लान ज्यानस्वेको आलेख