भारतको उडिसामा एक कोभिड रोगीले अस्पतालको शय्याबाट चार्टर्ड अकाउन्टेन्ट्सको परीक्षा तयारी गरेको तस्वीर सार्वजनिक भएको छ । ती व्यक्तिले शय्यामा किताब र क्याल्कुलेटर राखेको देखिन्छ । फेस मास्क र चश्मा लगाएका ती व्यक्ति पीपीई किट लगाएका तीनजनासँग कुरा गरिरहेको देखिन्छ ।
गन्जाम जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट तथा कलेक्टर विजय कुलंगेले तस्वीर अप्लोड गरेका हुन । उनी बरहामपुरमा रहेको एमकेसीजी मेडिकल कलेज अस्पताल जाँदा यो तस्वीर खिचिएको हो ।
कुलंगेले रोगीको लगनशीलताको प्रशंसा गरे । उनले तस्वीरको क्याप्सनमा लेखे, ‘सफलता दैवीसंयोग हैन । लगनशीलता चाहिन्छ ।’
तस्वीर ट्विटरमा शेयर भएपछि भाइरल बनेको छ ।
धेरैजसो प्रयोगकर्ताहरूले कोभिड हुँदा पनि सीएको अप्ठ्यारो जाँचका लागि तयारी गरेकोमा प्रशंसा गरेका छन् । अन्य केहीले चाहिँ बढी गम्भीर अवस्थाका बिरामीलाई त्यो शय्या उपलब्ध गराएको भए हुन्थ्यो भनी टिप्पणी गरे । अहिले
भारतमा अस्पतालको शय्या, अक्सिजन आपूर्ति र औषधिको चरम अभाव छ ।