
भारतमा कोरोनाको दोस्रो लहरका कारण धेरै मानिसको मृत्यु भएपछि मसानघाटहरूमा अन्त्येष्टिका लागि दाउराको अभाव हुन थालेको छ ।
लखनउ शहरमा काठका ठेकेदारहरूलाई दाउरा आपूर्ति गर्न धौधौ परिरहेको छ । अन्य ठाउँबाट दाउरा मगाइँदैछ ।
नगर निगमले अहिलेसम्म लगभग नौ हजार क्विन्टल दाउरा वन विभागसँग मागेको छ ।
अन्तिम संस्कारको खर्च बढेकाले नगर निगमसँग बजेटको पनि अभाव छ । उसले यसका लागि २० करोड भारु सहायता मागेको छ ।
अहिले अन्त्येष्टिका लागि दाउराको खपत पहिलेको तुलनामा १० गुणा बढेको छ । दिनको ३०० लाख जलाउनु परिरहेको छ । सामान्य अवस्थामा बढीमा ३० लाश जलाइने गरिन्थ्यो ।
पहिलापहिला अन्तिम संस्कार गराउने पण्डाले नै दाउरा बेच्ने गरेका थिए । तर कोरोनाको दोस्रो लहर आएपछि दाउराका अभाव भयो र विद्युतीय शवदाहगृहमा पनि लाइन लाग्न थाल्यो ।
त्यसपछि नगर निगम आफैंले दाउराको बन्दोबस्त गर्न थाल्यो । संक्रमित शवका लागि दाउरा, घ्यू र अन्य सामग्री नगर निगमले निःशुल्क उपलब्ध गराउने गरेको छ ।