
सत्ता समीकरणका लागि निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित हुँदा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुर्याउन मुस्किल पर्ने देखिएको छ ।
बुधवार दिउँसो १ बजे शुरू भएको प्रदेश सभा बैठकमा जनमोर्चाका खिमविक्रम शाही उपस्थित छैनन् ।
उनी पार्टीको सम्पर्कमा नरहेको स्रोतले जनायो ।
कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सरकारलाई दिएको समर्थन फिर्ता गरेको जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो ।
बुधवार प्रदेश सभा बैठकमा जनमोर्चाकी सांसद पियारी थापाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएकी थिइन् ।
सांसद शाही अनुपस्थित हुँदा बहुमत पुग्ने सम्भावना कमजोर बनेको छ । शाही २०७६ सालमा भएको उपनिर्वाचनमा बाग्लुङबाट विजयी भएका थिए ।
स्वतन्त्र सांसद दीपक मनाङे पनि बुधवारको बैठकमा उपस्थित छैनन् । अविश्वासको प्रस्तावमाथि बुधवार नै मत विभाजनको तयारी छ ।