
भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनको बयानलाई आलोचना गर्दै विपक्षी दल कांग्रेसले उनलाई मन्त्रीपदबाट बर्खास्त गर्नुपर्ने माग गरेको छ ।
पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री पी चिदम्बरमले मोदी सरकार भारतका सबै जनता मूर्ख छन् भन्ने ठान्छ र सरकारविरुद्ध जनताले विद्रोह गर्नुपर्छ भनेका छन् ।
चिदम्बरमले ट्वीट गरे, ‘अक्सिजन, खोप र रेमडेसिभिरको कुनै कमी छैन भनी केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनको बयानले मलाई आक्रोशित बनाएको छ । अनि उत्तर प्रदेशमा पनि खोपको कुनै कमी छैन भनी योगी आदित्यनाथले दिएको बयानले पनि मलाई आक्रोशित बनाएको छ ।’
अर्को ट्वीट गर्दै उनले लेखे, ‘टीभी च्यानलहरूमा आएका दृश्य, पत्रिकाका खबर झूटा हुन् त ? चिकित्सकहरू झूटो बोलिरहेका छन् त ? रोगीका परिवार झूटो बोलिरहेका छन् ? सबै भिडियो र तस्वीर कीर्ते हुन् त ? भारतका सबै जनता मूर्ख छन् भन्ने सरकारविरुद्ध विद्रोह गर्नुपर्छ ।’