
भारतको बिहारमा कोरोना संक्रमणका कारण पिताको मृत्यु भएको थाहा नपाएकी ६ वर्षकी छोरी रातभरि पिताको शवसँग अँगालो हालेर सुतेको कारुणिक खबर सार्वजनिक भएको छ ।
बिहान उठेर बिस्कुट खाएर उनी पिताको मोबाइलमा भिडियो गेम खेलिरहेकी थिइन् ।
बिहान पिताका साथीले भिडियो कल गरे । बच्चीले फोन उठाइन् । साथीले पिता कहाँ छन् भनी सोधे । सुतिरहनुभएको छ, बच्चीले भनिन् ।
फोनको स्क्रीन बुवातर्फ पार त भनी साथीले भने । शरीरमा कुनै हलचल नदेखेपछि साथीले कोभिड हेल्पलाइनमा फोन गरे ।
सूचना पाएर प्रहरी प्रशासन घटनास्थल पुग्यो र कोरोना पोजिटिभ मानेर प्रोटोकलअन्तर्गत रही शवको अन्त्येष्टि गरिदियो ।
बच्ची घरपेटीलाई दिइएको छ ।
घटना रामकृष्ण नगर थाना क्षेत्रको मधुबन कोलोनीमा भएको हो ।
मृतक नालन्दाको इस्लामपुरका प्रभात कुमार हुन् । कोरोनाका कारण मृत्यु भएको जस्तो देखिए पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रभात कुमार रामकृष्ण नगरको रोड नम्बर ५ मा मनोहर नामक व्यक्तिको घरमा भाडामा बस्थे । पटना जंक्सनमा हार्डवेयर पसल चलाउँथे । उनकी पत्नी बिहटास्थित माइती बसिछन् । पत्नीसँग प्रभातको झगडा थियो ।
प्रभात ६ वर्षकी छोरीसँग बस्थे । उनलाई ज्वरो आएर गाह्रो परेर सुतिरहेका थिए ।
बिहान साथी राजेशले फोन गरेपछि बल्ल प्रभातको मृत्यु भएको खुलेको हो ।
राजेशको फोनपछि कोरोना हेल्पलाइनले रामकृष्ण नगर थानासँग सम्पर्क गरेको थियो र प्रहरी घटनास्थलमा पुगेर लाश बरामद गरी अन्त्येष्टि गरेको थियो ।
बच्ची अहिले घरपेटीसँग छिन् । आमालाई बच्ची सुम्पिने तयारी हुँदैछ । उनको कोरोना टेस्ट पनि गरिएको छ ।
मंगलवार राति प्रभातको मृत्यु भएको मानिएको छ । छोरीले रातभरि पिताको लाशलाई अँगालो हालेर सुतेकी थिइन् ।