
भारतमा कोरोनाभाइरस संक्रमण ह्वात्तै बढेर गएपछि गाउँतिर मानिसहरू झाँक्रीलाई देखाउन थालेका छन् । झाँक्रीहरूले रोगीलाई तातो फलामले डाम्ने गरेका छन् ।
महाराष्ट्रको दुर्गम भागमा रहेको चिँचपाडामा रोगीहरू शरीरमा फलामको डाम लिएर आएको क्रिस्चियन अस्पतालकी डा अशिता सिंहले बताइन् । भूतप्रेतले संक्रमण गराएको र त्यो भगाउन फलामले डामेको उनीहरूको भनाइ छ ।
अरू गाउँले चाहिँ जडीबुटीमा निर्भर छन् भने अन्य केही गाउँमा राक्षस आएको र रोग फैलाइरहेको भन्दै भागेका छन् । उनीहरू यसरी भाग्दा संक्रमण थप द्रुत गतिमा फैलिरहेको छ ।
क्रिस्चियन अस्पतालमा ८० जनासम्म रोगीलाई हेर्न मिल्छ । रोगीहरू केही नलागेपछि बल्ल अस्पताल आउने गरेको र बचाउन नसकिने अवस्थामा पुगेको अवस्थामा हुने डा सिंहको भनाइ छ ।