२६ जेठ २०८३, मंगलबार

सांसद शाहीको कोरोना रिपोर्टप्रति आशंका जनाउँदै कांग्रेससहित ३ दलद्वारा छानबिनको माग

बैशाख १६, २०७८
सांसद शाहीको कोरोना रिपोर्टप्रति आशंका जनाउँदै कांग्रेससहित ३ दलद्वारा छानबिनको माग

गण्डकी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित ३ दलले विभिन्न माग राखेका छन् ।

विपक्षी दलहरूले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव पेश हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन सांसद खिमविक्रम शाही अस्वाभाविक र रहस्यमय तरिकाले सदनमा अनुपस्थित हुनु लगायतले घटनाले आफूहरूलाई दुखित र आश्चर्यचकित बनाएको जनाएका छन् । 

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले बिहीवार संयुक्त विज्ञप्ति जारी गर्दै सांसद खिमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाको विश्वसनीयताको जाँच गरिनुपर्ने, चरक मेमोरियल अस्पतालको सीसीटीभीको जाँच गरी सम्पूर्ण फुटेजहरू सार्वजनिक गरिनुपर्ने, प्रदेशसभा सदस्यलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदको सुरक्षाको सुनिश्चितता गरिनुपर्ने माग गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा २०७८ वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको भनेर रिपोर्ट आएको छ । जबकि त्यहीँ समय माननीय खिमविक्रम शाही प्रदेशसभा परिसर नदीपुरमा स्वाब दिइरहनुभएको थियो । एक व्यक्ति एउटै समयम २ स्थानमा उपस्थित हुन कसरी सम्भव छ ? एक स्थानमा स्वाब दिइसकेपछि त्यही दिन अर्को स्थानमा स्वाब दिनुपर्ने कारण के पर्‍यो ?’

गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ देखाउनु तर करीब आधा घण्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजेटिभ देखाउनु अत्यन्त रहस्यमय र अस्वाभाविक रहेको उल्लेख छ ।

वैशाख १५ गते दिउँसो २ बजे फोनमा संवाद गरिरहेका सांसद सोही दिन मध्याह्न १२ बजे पार्टी, संसदीय दल र प्रदेश सभा सचिवालयलाई समेत जानकारी नगराई आईसीयूमा भर्ना गरिएको भनिएको अस्वाभाविक कथन र पार्टीका नेताले भेट्न खोज्दा पनि अस्पताल प्रशासनले भेट्न नदिनु, चरक मेमोरियल अस्पताल र त्यहाँका जिम्मेवार चिकित्सकको व्यवहार गैरजिम्मेवार र अविश्वसनीय रहेको जनाइएको छ ।

‘चरक अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोशाकमा सुरक्षाकर्मी परिचालित गर्नुको कारण रहस्यमय रहेको र सांसद शाही चरक अस्पतालमा पैदल प्रवेश गरेको सीसीटीभी फुटेजमा कैद दृश्यले मञ्चन गरिएको नाटकलाई पर्दाफास गर्ने भएका कारण त्यसको हार्डवयरमा समेत चलखेल गरिनुले यो योजनामा चरक अस्पताल समेत संलग्न रहेको देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभा सदस्यलाई विभिन्न टेलिफोन नम्बरबाट फोन गरी प्रलोभन दिने, धम्की दिने र उपरोक्त घटना अविश्वासको प्रस्तावसँग सम्बन्धित देखिनुले योजनाको सञ्चालकबारे प्रस्ट संकेत गरेको दलहरूको ठहर छ । 

जनमोर्चा नेपालको तर्फबाट प्रदेश सभाको उपनिर्वाचनमा बागलुङबाट निर्वाचित सांसद शाहीको हाल चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनले बिहीवार नै विज्ञप्ति जारी गरी पार्टीको निर्णयप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । 

गण्डकी प्रदेशका ६० सांसदमध्ये शाहीसहित जनमोर्चा नेपालका ३ सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्