
बाँकेमा थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड) का मकैका बीउ जिल्लामा उत्पादन शुरूआत भएको छ ।
रामपुर–१० जातको बीउ उत्पादन शुरू भएको गेट नेपालले जनाएको छ ।
संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरू भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारी खेतीमा काम गर्दै आएको संस्थाले यस वर्षदेखि मकैको हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो ।
बीउ उत्पादनका लागि सिमिट/एनसाफको प्राविधिक सहयोग रहेको जनाइएको छ । जिल्लाको कोहलपुर र डुडुवा गाउँपालिका मकैको बीउ उत्पादन गर्न शुरू गरिएको हो ।
संस्थाका प्राविधिक तेज खड्काले चितवनस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको समन्वय र सहकार्यमा नयाँ जातको बीउ उत्पादन गरिएको बताए । उनले भने, ‘शुरूआती चरणको बीउ उत्पादनको नतिजा राम्रो निस्किएको छ । यही अनुभवका आधारमा बीउ उत्पादन विस्तार गर्छाैं ।’
डुडुवा–२ बेतहनी सन्तलियापुरका कृषक राजेन्द्रप्रसाद बर्माले हाइब्रिड रामपुर–१० मकैको उत्पादन राम्रो रहेको जानकारी दिए । उनले लगाएको मकैको अवलोकन गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमर पुनले यो किसिमको अनुसन्धान नयाँ रहेको र लगानी र उत्पादन कस्तो देखिने हो भन्ने हेर्न बाँकी रहेको बताए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले रामपुर जातको मकैको उत्पादन राम्रो हुने जानकारी दिए । उनले प्रदेश सरकारले उत्पादनमा आधारित कार्यक्रममा प्रतिकेजी २५ रुपैयाँ अनुदान समेत दिएको बताए ।
बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलीप सिंहले भारतीय हाइब्रिड मकैभन्दा बढी नै उत्पादन दिने जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोनका कफिल अहमदले किसानको माग हाइब्रिड रामपुर–१० मा अत्याधिक रहेको बताए ।
हाल मकै जोन अन्तर्गत १० हेक्टरमा सो जातका मकै प्रर्दशनका लागि लगाइएको उनले जानकारी दिए ।