
काठमाडौं, १५ जेठ — फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा प्रभाव जमाउने खोजेका इस्लामिक स्टेट –आईएस) का लडाकुलाई रोक्नका लागि मुसलमान पृथक्तावादी तथा माओवादीहरूसँग आग्रह गरेका छन् । डुटेर्टेले उनीहरूलाई सैनिकको जस्तो व्यवहार गर्ने अनि उस्तै सुविधा दिने प्रतिज्ञा गरेका छन् ।

शनिवार सुलु प्रान्तको जोलो द्वीपको भ्रमण गरेपछि डुटेर्टेले यो घोषणा गरेका हुन् । फिलिपिनी सेनाले अबु सय्यफ जिहादी लडाकुहरूसँग लडिरहेको छ । उक्त समूहले आईएससँग सम्बन्ध रहेको बताएको छ ।
डुटेर्टेले मोरो इस्लामिक लिबरेसन फ्रन्ट र मोरो नेसनल लिबरेसन फ्रन्टलाई उक्त प्रस्ताव गरेका हुन् । यी दुवै समूहले मुसलमान मोरोहरूको स्वतन्त्रताका लागि लडिरहेका छन् । फिलिपिन्समा करीब पाँच प्रतिशत मुसलमान छन् ।
त्यसैगरी उनले फिलिपिन्स कम्युनिस्ट पार्टीको सशस्त्र समूह न्यु पिपुल्स आर्मीलाई पनि यही प्रस्ताव गरेका छन् । माओवादीहरूलाई गुरिल्ला लडाईं त्यागेर अधिकारीहरूसँग मिलेर काम गर्न उनले आग्रह गरेका छन् ।
पृथक्तावादी समूहहरूले यसमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
अहिले आईएससँगको लडाईंमा मरावीमा सयजना भन्दा बढीको मृत्यु भइसकेको छ । यसमा कम्तीमा २७ नागरिक र ६१ आतंकवादी पनि समावेश छन् ।
आरटीबाट