
काठमाडौं १५ जेठ – ७ दशमलव २ प्रतिसत आर्थिक वृद्धिको लक्ष्यसहित सरकारले आर्थिक वर्ष (आव) २०७४/७५ का लागि अनुमानित आय/व्ययको विवरण संसदमा पेश गरेको छ ।
व्यवस्थापिका संसदको सोमवार बसेको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले पुरानै कार्यक्रमको निरन्तरतासहित गत आवको तुलनामा करीव २२ प्रतिशत बढी बजेट पेश गरेका हुन् ।
सरकारले आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
साधारणतर्फ ८ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ र पूँजीगततर्फ ३ खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागि राजश्वबाट ७ खर्व ३० अर्ब रुपैयाँ, सावाँ फिर्ताबाट १५ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ७२ अर्ब रुपैयाँ तथा वैदेशिक ऋणबाट २ खर्व १४ अर्ब रुपैयाँ उठाउने लक्ष्य सरकारले राखेको छ ।
निर्वाचन आचारसंहिताका कारण सरकारले बजेटमा नयाँ कार्यक्रम समावेश नगरेको अर्थमन्त्री महराले बताए । आव २०७४÷७५ मा ४ लाख नयाँ रोजगारी सृजना गर्ने लक्ष्य पनि बजेटले लिएको छ ।
अर्थमन्त्री महराले आव २०७४/७५ मा ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्विदरको लक्ष्य राखेको घोषणा गरे ।
त्यस्तै आव २०७४/७५ मा मूल्यवृद्वि ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य पनि सरकारले लिएको छ ।