१२ असार २०८३, शुक्रबार

काठमाडौं महानगरपालिकाको लगानीमा अक्सिजन उत्पादन शुरू

बैशाख २०, २०७८
काठमाडौं महानगरपालिकाको लगानीमा अक्सिजन उत्पादन शुरू
प्रतिकात्मक तस्वीर

काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरू गरिएको छ ।

कामपाले उपलब्ध गराएको करीब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतवारदेखि अक्सिजन उत्पादन शुरू गरिएको हो । 

प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ ।

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट्यांक, २ वटा अक्सिजन जेनेरेटर लगायत उपकरण राखिएका छन् । मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रबीच २०७६ माघ १५ गते शहीद सप्ताहका कार्यक्रम पारेर सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरिद खुला प्रतिस्पर्धाबाट लिएको हो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार अस्पतालले गर्नेछ । प्लान्ट शुभारम्भपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस कार्यले अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्दै तत्काल कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी रहेको जानकारी दिए ।

त्यसक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलायसिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको बताए । उनले भने, ‘गंगालालमै डायलायसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने बिरामीले डायलायसिस गर्न अर्को अस्पताल जानुपर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौं ।’

कार्यक्रममा ३ नम्बर वडाका अध्यक्ष दीपक केसीले अबको केही दिनमा कान्तिको प्लान्ट पनि शुरू हुने जानकारी दिए । उनका अनुसार यसपछि यी २ अस्पतालमा दैनिक आवश्यक पर्ने करीब २०० सिलिन्डर अक्सिजन अन्यत्र पठाउन सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्