१० असार २०८३, बुधबार

कोरोना संक्रमितलाई निःशुल्क अस्पताल पुर्‍याउँदै भरतपुर महानगर

बैशाख २३, २०७८
कोरोना संक्रमितलाई निःशुल्क अस्पताल पुर्‍याउँदै भरतपुर महानगर

कोरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक संक्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान शुरू गरेको छ । यससँगै महानगरले २ स्थानमा आइसोलेशन तयार गर्दैछ । 

महानगर प्रमुख रेनु दाहालले २ वटा एम्बुलेन्स संक्रमितलाई अस्पताल ल्याउनका लागि तयारी अवस्थामा राखिएको बताइन् ।

शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका संक्रमितलाई अस्पतालसम्म आउन कठिन हुने भएकाले एम्बुलेन्सको व्यवस्था गरिएको उनको भनाइ छ । उनले भनिन्, ‘महानगरभित्रै कोरोना उपचारका लागि ३ ठूला अस्पताल छन् । ती अस्पतालसम्म ल्याउने व्यवस्था महानगरले गर्छ ।’

सामान्य अवस्थाका संक्रमित घरमै बसेको र जटिललाई अस्पतालमै राख्नुपर्ने भएकाले यसको व्यवस्थापनमा महानगर जुटेको उनको भनाइ छ । 

प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर र स्वास्थ्य चौकी शारदानगरमा आइसोलेसन कक्ष तयार गरिने पनि उनले जानकारी दिइन् । यी २ ठाउँमा कम्तिमा ५० शय्याको आइसोलेसन कक्ष निर्माण गर्न सकिने छ ।

कोरोनाको उपचार गर्न तोकिएका अस्पतालको शय्या भरिएमा आइसोलेसन कक्षलाई सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
 
ती आइसोलेसन अक्सिजन सहितको सुविधा सम्पन्न हुने छन् । कोभिड–१९ संक्रमणको रोकथाम र उपचारका लागि महानगर प्रमुखले आफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेका छन् । उनले कोरोनाका लक्षण देखिएकालाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरिएको बताइन् ।

स्वास्थ्य विज्ञ, स्वास्थ्य संस्था प्रमुख र स्थानीय प्रशासनसँग जोखिम न्यूनीकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको बताउँदै उनले हरेक टोलमा माइकिङमार्फत सचेतना कार्यक्रम गरिएको जानकारी दिइन् ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सफल पार्न समन्वय गरिएको बताइन् । उनले भनिन्, ‘संंक्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्