काठमाडौं, १७ जेठ– सुर्ती र चुरोटका अम्मलीहरूलाई दुःखको खबर– अब सुर्ती र चुरोटको मूल्य वढ्ने भएको छ । सरकारले सरकारले यी लागूपदार्थजन्य वस्तुको अन्तःशूल्कमा वृद्वि गरेसँगै मूल्य बढ्ने भएको हो ।
आर्थिक वर्ष २०७४/७५ को बजेट वक्तव्यमार्फत सरकारले चुरोट र सुर्तीजन्य वस्तुमा अन्तःशूल्क दर बढाएसँगै मूल्य बढ्ने भएको हो । यी वस्तुको अन्तः शूल्कमा सरकारले औषत १० प्रतिशतसम्म वृद्वि गरेको छ ।
सरकारले फिल्टर नभएको सुर्तीको चुरोट (सिगरेट) मा प्रतिएम २८ रुपैयाँ अन्तःशूल्क वृद्वि गरेको छ । हाल सिगरेटको प्रतिएम ३ सय ४६ रुपैयाँ कायम गरिएको अन्तःशूल्क आव २०७४/७५ मा ३ सय ७४ रुपैयाँ पु¥याइएको छ ।
त्यस्तै, ७० मिलिमिटर (मिमि) सम्मको लम्बाईको सिगरेटको प्रतिएम अन्तःशूल्क ८ सय ५९ रुपैयाँ कायम गरिएको छ । हाल सिगरेटको यस्तो अन्तःशूल्क ७ सय ९५ रुपैयाँ कायम गरिएको थियो ।
७० भन्दा बढी ७५ मिमिसम्मको लम्वाईमा फिल्टर भएको सिगरेटको प्रतिएम मूल्य १ हजार १ सय १६ रुपैयाँ पु¥याएको छ । हाल उक्त सिगरेटको यस्तो अन्तःशूल्क १ हजार २४ रुपैयाँ थियो ।
७५ भन्दा बढी ८५ मिमिसम्मको लम्वाईमा (फिल्टर भएको) प्रतिएम अन्त:शूल्क १ हजार ४ सय ५६ रुपैयाँ र ८५ मिमिभन्दा बढी लम्वाईमा (फिल्टर भएको) प्रति एम अन्तःशूल्क २ हजार ५५ पुर्याइएको छ । हाल ती वस्तुको प्रतिएम मूल्य क्रमशः १ हजार ३ सय ३६ रुपैयाँ र १ हजार ८ सय ६८ रुपैयाँ कायम छ ।
त्यस्तै, जर्दा, खैनी, नस (नन स्नफ) र गुड्खा तथा निकोटिनयुक्त पान मसला तथा यस्तै सूर्ती मिश्रित तयारी वस्तुहरूको प्रतिकिलो अन्तःशूल्क ४ सय ६२ रुपैयाँ कायम गरिएको छ । यसअघि ती वस्तुको यस्तो अन्तःशूल्क ४ सय २० रुपैयाँ थियो । चूना मिलाई खाने खुद्रा बिक्रीको लागि प्याकिङ्क गरिएको सुर्तीको अन्तःशूल्क प्रतिकिलो २३ रुपैयाँले बढेर प्रतिकिलो २ सय ५३ पुगेको छ । खुद्रा विक्रीको लागि नराखिएको काटिएको सुर्ती (कट् टोबाको) धुलो सुर्ती (डस्ट टोबाको) अन्तःशूल्क पनि २३ रुपैयाँले बढेर प्रतिकिलो २ सय ५३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, भोड्का, जिन, जेनेभा, रम जस्ता ह्विस्की, ब्राण्डी र वाइन जस्ता अल्कोहलिक पेयमा कच्चा पदार्थको रुपमा प्रयोग हुने मादक द्रबहरू (स्प्रीटसमेत)को अन्तः शूल्कमा वृद्वि गरेको छ ।