१० असार २०८३, बुधबार

राष्ट्रिय सभामा एउटै उम्मेदवार बनाउनेबारे एमाले भित्र छलफल तीब्र, दोस्रो तहका नेताहरू सक्रिय

बैशाख २४, २०७८
राष्ट्रिय सभामा एउटै उम्मेदवार बनाउनेबारे एमाले भित्र छलफल तीब्र, दोस्रो तहका नेताहरू सक्रिय

राष्ट्रिय सभाको रिक्त एक स्थानका लागि बागमती प्रदेशमा जेठ ६ गते हुने उप निर्वाचनका लागि शुक्रवार उम्मेदवारको मनोनयन हुँदैछ । बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले डा खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । बागमती प्रदेशको योजना आयोगका पूर्वउपाध्यक्ष देवकोटा माधव नेपाल निकट मानिन्छन् । नेकपा एमालेले भने आधिकारिक उम्मेदवार घोषणा गर्न सकेको छैन । 

यसअघि गृहमन्त्री रामबहादुर थापालाई राष्ट्रिय सभाको रिक्त स्थानमा उम्मेदवार बनाउने बताएको एमालेले बिहीवार औपचारिक निर्णय गर्न सकेको थिएन । विपक्षी गठबन्धन बलियो हुँदा चुनाव हार्न सकिने भन्दै थापा स्वयम्ले उम्मेदवारी दिन अस्वीकार गरेको स्रोतको भनाइ छ । 

एमालेको तर्फबाट साझा उम्मेदवार बनाउनको लागि एमाले संस्थापन पक्ष र माधव नेपाल पक्षबीच बिहीवारदेखि तीब्र छलफल भइरहेको छ । राष्ट्रिय सभाको उम्मेदवारीमा सहमति गरेर पार्टी एकता गर्न भन्दै एमालेका दोस्रो तहका नेताहरू क्रियाशील भएका छन् । 

महासचिव ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल समूहका नेताहरूसँग बिहीवार छुट्टाछुट्टै छलफल गरेका थिए । शुक्रवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच वार्ता गराउन दोस्रो तहका नेताहरूले प्रयास गरेका छन् । 

वैशाख ९ र १० गते ओली र नेपालबीच २ चरणमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । पार्टीलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्काउनु पर्ने माधव नेपाल पक्षको शर्त छ । 

एमाले विवाद उत्कर्षमा पुगेको समयमा बिहीवार राष्ट्रपति विद्या भण्डारीले दिउँसो ओली र साँझ नेपालसँग परामर्श गरेकी थिइन् । भण्डारीले मिलेर अघि बढ्न सुझाएको एमाले स्रोतले बतायो । 

बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षमाथि गरिएको कारवाही फुकुवा गर्नेबारे समेत छलफल भएको थियो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्माले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यस अघि नै एउटा समझदारीमा पुग्नेगरी छलफल चलिरहेको एमालेका दोस्रो तहका नेताहरूले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्