२३ असार २०८३, मंगलबार

प्रचण्डलाई ओलीको प्रश्न: ‘कतिवटा बिहे गर्यो भने सम्मान पाइन्छ ?’

कात्तिक २०, २०७४
प्रचण्डलाई ओलीको प्रश्न: ‘कतिवटा बिहे गर्यो भने सम्मान पाइन्छ ?’

काठमाडौं, १६ जेठ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहाललाई यस वर्षको गणतन्त्र दिवसको अवसर पारेर विभूषण सिफारिश गरिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा व्यङ्ग्य गरेका छन् ।

सरकारले प्रकाश दाहाललाई सुप्रबल जनसेवाश्री सम्मान प्रदान गरेपनि दाहालले सोमवारै आफ्नो धारणा सार्वजनिक गर्दै उक्त पदक नलिने बताइसकेका छन् ।

नेकपा एमालेले मंगलवार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विजयसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सार्वजनिक पदमा बसेको व्यक्तिले छोरालाई सम्मान गर्न सिफारिश गर्दा लोकलाज मान्नुपर्ने बताए ।
‘आफ्ना गुरिल्लालाई महान् सम्मान ? प्रधानमन्त्रीज्यू, कतिवटा बिहे ग–यो भने सम्मान पाइन्छ ? के – के गर्यो भने सम्मान पाइन्छ ? सार्वजनिक पदमा बसेपछि त्यसको सम्मान गर्न सिक्नुहोस्, सार्वजनिक पदको ख्याल राख्नुस्,’ प्रचण्डप्रति कटाक्ष गर्दै ओलीले भने, ‘छोरालाई घरैमा पुल्पुल्याउनुहोस् । राज्यको सम्मान अमर्यादित ढंगले बाँड्नु भनेको विभूषणकै अपमान हो । यस्तो अपमान स्वीकार्य छैन ।’

कसैले भारतको लखनउमा पुगेर गहना लुटेर ल्याएमा लगाउन नजानेर टाउकोमा लगाउने चिज खुट्टामा र खुट्टामा लगाउने चिज टाउकोमा लगाउने गरिएको किस्सा सुनाउँदै ओलीले मानपदवीको अपमान गरिएको आरोप लगाए ।
उनले राष्ट्रको मानपदवी लुटिएको गहना नभएको बताए ।

‘के तपाईंको छोरा महान् समाजसेवी नै हुन् ? के भन्छ नेपाली जनताले ? अरू भेटिएनन् ? देशका लागि काम गरेका मान्छे भेटिएनन् ? प्रश्न गर्न पनि लाज हुन्छ,’ ओलीले थपे ।

प्रचण्डले छोरालाई महान् समाजसेवी बनाएको भन्दै ओलीले आक्रोश समेत व्यक्त गरे ।
‘यस देशमा सम्मान गर्न लायक कांग्रेस–माओवादी बाहेक कोही छैन ? सम्मानको अपमान भएको छ । सत्तारूढ दलले शरम व्यक्त गर्नुपर्ने अवस्था छ,’ उनले भने । सार्वजनिक पदमा बसेपछि लोकलाजको ख्याल गर्न पनि ओलीले प्रचण्डलाई सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्