
नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ संक्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान थालनी गरेको छ ।
विपत्तिमा मुलुक पर्दा मुलुकवासीको सहयोगार्थ संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी अभियान सञ्चालन गरिएको महासंघले जनाएको छ ।
एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत पहिलो कार्यक्रमका रूपमा शनिवारदेखि हेल्लो डाक्टरको शुभारम्भ गरिएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासंघ छ ।
हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा सञ्चालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।
हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आइतवारदेखि शुरू हुनेछ । कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्नेछन् ।
हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड संक्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ । प्रारम्भमा ५ जना डाक्टरबाट परामर्श गर्नेछन् । रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालीन अवस्थाबाहेक अस्पतालसम्म जान नपर्ने वातावरण तय गर्न लागिएको महासंघको भनाइ छ । यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ ।
हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हँुदा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।