११ असार २०८३, बिहीबार

सावधानी अपनाउँदै वाग्मती सफाइ

बैशाख २५, २०७८
सावधानी अपनाउँदै वाग्मती सफाइ
फाइल तस्वीर

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तीव्र भइरहेका बेला साङ्केतिक रूपमा चार स्थानमा वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाअभियान आठ वर्ष हुन लाग्दा समेत जारी छ । महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा सफाइ महाअभियान रोकिएको छैन, निरन्तर जारी छ ।

सफाइ महाअभियानको ४१७ औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको हो । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारी र मीना केसीले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सफाइ गरेका हुन् ।

कोरोनाबाट बच्न निषेधाज्ञा जारी रहेको र पशुपति क्षेत्रमा कोरोनाबाट निधन भएकाको शव दैनिक तीन दर्जनभन्दा बढी आउने गरेकाले पनि फोहर बढेको देखिएको जनाइएको छ । यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा दुर्गा रावलसमेत भएर सफाइ गरेका छन् । दुवै स्थानको नदी किनारमा जम्मा भएको फोहर टिपेर व्यवस्थापन गरिएको छ । सफाइ महाअभियानले टिपेको फोहर महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

गुह्येश्वरीमाथिको वाग्मतीमा मनदेखि नै वाग्मती सफाइ अभियान जारी गरेको वाग्मती सुन्दरता सरोकार मञ्चले निषेधाज्ञाकाबीच ३८७ औँ हप्ताको कार्यक्रम सम्पन्न गरेको छ । भौतिक दूरी कायम गर्दै गोठाटार पुल नजिकको कपुर उद्यान क्षेत्रमा सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। कोरोनाका कारण कुनै स्वास्थ्य समस्या परेमा सक्दो सहयोग गर्न तयार रहेको मञ्चले जनाएको छ ।

वाग्मतीको तिलगङ्गा सफाइको २९९ औँ हप्तामा भौतिक दूरी कायम गरी त्यस क्षेत्रमा सफाइ गरिएको छ । नदी किनार नजिक निवास भएका अभियानकर्मी नदीमै उपस्थित भएर र नदीको किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले टोल, घर,आँगन सफाइ गरिएको संयोजक आशा पाण्डेले जानकारी दिएन् ।

विष्णुमतीको माथिल्लो भाग सफाइको ३६ औँ हप्तामा बूढानीलकण्ठ नगरपालिका वडा नं ४ पासिकोटमा सफाइ गरिएको छ । भौतिक दूरी कायम गरी सीमित अभियानकर्मीबीच सफाइ गरिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिए।

विष्णुमती धन्येढिकुरो सरोकार समितिसमेत यस क्षेत्रको विष्णुमती सफाइमा संलग्न हुने गरेको जनाइएको छ । यसैगरी आज वाग्मतीका सहायक नदीहरू रुद्रमती, विष्णुमतीको तल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलामा पनि दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै उपत्यका बाहिरका मुख्य नदी, शहर एवं सांस्कृतिक सम्पदा स्थलमा पनि सफाइ भइरहेको छ । हालसम्म देशभर १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्