सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पीसीआर मशिन विद्युत् अनियमित हुँदा २ दिनदेखि बन्द रहेको छ ।
जिल्लामा विद्युत् अनियमित हुँदा पीसीआर मशिन बन्द भएको हो । ल्याबमा बुधवार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो ।
त्यसपछि बिहीवार, शुुक्रवार र शनिवार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मशिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए ।
उनले मशिन सञ्चालन नभए पनि शुक्रवार ३० जनाको थ्रोट स्वाब संकलन भएको बताए । बुधवार, बिहीवार र शुक्रवारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिवारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
यता शनिवार सार्वजनिक बिदा परेकाले आइतवार मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए ।
अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयत शनिवारसम्म ३९० जनाको स्वाब संकलन भएको छ ।
सर्लाहीमा शुक्रवार बिहानसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिए । ४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको यादवले बताए ।
शुक्रवार र शनिवार स्वाब संकलन गरिएका सबै स्वाबको रिपोर्ट आइतवार मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । एक पटक पीसीआर मशिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ ।