१५ असार २०८३, सोमबार
विभाजनको डिलमा जसपा

सत्ता संघर्षले संकटमा जसपा– कार्यकारिणी समितिको बैठक नै अन्योलमा

बैशाख २६, २०७८
सत्ता संघर्षले संकटमा जसपा– कार्यकारिणी समितिको बैठक नै अन्योलमा

दुई पक्ष स्पष्टरूपमा दुई लाइनमा विभाजित बनेपछि जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक समेत अन्योलमा परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी विशेष अधिवेशनमा विश्वासको मत लिने भनेपछि जसपामा राजनीतिक संकट गहिरिएको हो ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएर विस्थापित गरी अर्को वैकल्पिक सरकार बनाउनुपर्ने राजनीतिक लाइन पूर्व समाजवादी खेमाको छ भने कुनै पनि खेमामा नलागेर तटस्थ बस्नु पर्ने लाइन पूर्व राजपा खेमाले लिएको छ ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको लाइन जसरी पनि ओलीलाई  विश्वासको मत लिन नदिएर असफल तुल्याउँदै वैकल्पिक सरकार बनाउने देखिन्छ ।

त्यसैगरी यसअघिसम्म ओली सरकारलाई विश्वासको मत दिएर सरकार जोगाउने लाइन लिएको पूर्व राजपा खेमाबाट प्रतिनिधित्व गर्ने अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने तटस्थ बस्ने लाइन लिएको छ ।

ओलीलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नल्याउने र वैकल्पिक सरकार निर्माणमा पनि नलाग्ने पक्षमा ठाकुर-महतो देखिएका छन् । उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीलाई भेटेर आफ्नो लाइन सुनाइसकेका छन् ।

यस्तो अवस्थामा पूर्व खेमाले आ-आफ्नो लाइन लिएको भए पनि जसपाको आधिकारिक लाइन तय गर्नका लागि बस्नु पर्ने कार्यकारिणी समितिको बैठक भने अन्योलमा परेको छ ।

पूर्व सपा खेमाकी जसपा कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रेणु यादव बैठकबारे अहिलेसम्म आफूलाई केही पनि जानकारी नरहेको बताउँछिन् ।

‘जसपाले के लाइन लियो वा लिएन त्यसबारे मलाई अहिलेसम्म केही जानकारी छैन,’ यादवले लोकान्तरसँग भनिन्, ‘पार्टीको कार्यकारिणी वा संसदीय दलको बैठक बस्ने वा नबस्ने विषमा समेत अहिलेसम्म मलाई कुनै पनि किसिमको सूचना प्राप्त भएको छैन।’

लुम्बिनी प्रदेशमा उपेन्द्र-भट्टराई समूहले त्यहाँका चारजना प्रदेश सांसदलाई कारवाही गरेपछि हालसम्म जसपाका पदाधिकारीबीच संवाद समेत हुन सकेको छैन।

‘लुम्बिनी प्रकरणपछि ६ जना पदाधिकारी ‘हाई कमान्ड’को बैठक बस्न सकेको छैन,’ पूर्व राजपा खेमाका जसपा कार्यकारिणी समिति सदस्य समेत रहेका ती नेताले लोकान्तरसँग भने, ‘आज साँझसम्म हामी युवा नेताहरूले दुवै पक्षका नेताहरूलाई दबाब दिएर पहिले पदाधिकारी बैठक बसाउन लागेका छौं ।’

'साँझदेखि अबेर रातिसम्म भएपनि पहिले तीतोमीठो बिर्सिएर पार्टी पदाधिकारीको बैठक बसाउने छौं, त्यसपछि त्यहाँ कुरा मिले कार्यकारिणी समितिको बैठक बोलाउन सहज हुनेछ,' उनले भने ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समितिका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो गरी पाँचजना पदाधिकारी छन् ।

राजेन्द्र श्रेष्ठलाई आमन्त्रित सदस्यका रूपमा थपेर पदाधिकारीलाई ६ सदस्यीय बनाइएको छ ।

पदाधिकारीमा ठाकुर र महतो दुईजना मात्र पूर्व राजपाबाट छन् भने ४ जना सदस्य पूर्व सपाबाट नै छन् ।

पार्टीको कार्यकारिणी बैठकको कार्यसूची तय गर्नेदेखि अन्य विषयवस्तुमा गृहकार्य गरेर एउटा साझा धारणा तय गर्नका लागि उक्त हाई कमाण्ड बनाइएको भएपनि जसपाको मूल निर्णय गर्ने निकाय भनेको कार्यकारिणी समिति नै हो। ५१ सदस्यीय कार्यकारिणी समितिमा पूर्व राजपाका रेशमलाल चौधरी जेलमा रहेका कारण अहिले ५० सदस्य छन् ।  

ठाकुर- महतो पक्षले तटस्थ बस्ने लाइन लिएपछि कार्यकारिणी समितिमा यसअघि बहुमतमा पुगेको उपेन्द्र–बाबुराम समूहमाथि दबाब परेको छ ।

‘भोलि १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ, त्यतिबेलासम्म पार्टीको औपचारिक कार्यकारिणी तथा संसदीय दलको बैठक बसेर निर्णय आउन सक्छ,’ जसपाका अर्का एक कार्यकारिणी सदस्यले भने, ‘नभए प्रतिनिधि सभामा मतदान पर्सि अर्थात् २८ गते हुने हुनाले त्यति बेलासम्म कुनै न कुनै निर्णय आउन सक्छ ।’

जसपाका युवा नेतादेखि सांसदहरूले पार्टीलाई फुटबाट बचाउन पनि एक ठाउँमा आएर सर्वसम्मत निर्णय गर्नुपर्ने बताउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्