
प्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा राजीनामा नगर्न झलनाथ खनाल-माधव नेपालपक्षीय सांसदहरूलाई आह्वान गरेका छन् ।
सोमवार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले हतारमा अनुचित निर्णय लिन वाञ्चनीय नहुने उल्लेख गरेका हुन् । साथै उनले केही समस्या भए बसेर छलफल गरी समाधान गर्न पनि आह्वान गरेका छन् ।
'यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,' ओलीले लेखेका छन् ।
उनले आज आफूले संसद्बाट विश्वासको मत लिन लागेको उल्लेख गर्दै आफ्नो पक्षमा मतदानका लागि जानकारी गराइसकिएको पनि उल्लेख गरेका छन् ।
के लेखेका छन्, प्रधानमन्त्री ओलीले ?
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।