बाँके, १७ जेठ- निर्वाचनको वातावरण बिगार्न नदिन इलाका प्रहरी कार्यालय जमुनहाले सीमा नाकामा कडाइ गरेको छ । साना हतियार र विस्फोटक पदार्थ भित्रिन नदिन प्रहरीले सीमामा तालिमप्राप्त कुकुर परिचालन गरेको छ ।

निर्वाचनका बेला खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिन सक्ने भन्दै तालिमप्राप्त कुकुर परिचालन गरेको जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) सुधीरकुमार खड्काले जानकारी दिए । भारतबाट आउनेको कुकुरको सहायतामा जाँच गर्न थालेको उनको भनाइ छ ।
अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालिमप्राप्त कुकुरले सुँघेर पत्ता लगाउने उनले बताए । ‘अवैध हतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी नेपाल प्रवेशबाट रोक्न तालिमप्राप्त कुकुर परिचालन गरिएको छ,’ सइ खड्काले भने । हप्तामा कम्तीमा दुर्ई दिन तालिमप्राप्त कुकुर ल्याएर चेकजाँच गरिने उनले बताए । तर, प्रहरीलाई आवश्यक लागे जहिलेसुकै ल्याउन सकिने खड्काको भनाइ छ, नयाँ पत्रिकामा खबर छ ।